लकडाउनको सदुपयोग गर्दै ड्रयागन खेति सुरु गरे, आज सफल भए

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ०७


काठमाडौं । कोरोना महामारीले जुन अवस्था सिर्जना गर्यो त्यो सायदै कसैले बिर्सन सक्छन। कोरोनाकालमा भएको लकडाउनले धेरै बेरोजगार भए, जनजिवन नै अस्तव्यस्त बन्यो।

उद्योग, व्यवसाय सबै ठप्प रहे जसको असर अहिलेसम्म अर्थतन्त्रमा देखिरहेको छ। देशको आर्थिक अवस्था संकटग्रस्त छ। सामान्यरुपमा भन्नु पर्दा कोरोनाकाल धेरैको लागि अभिसापको रूपमा आयो। तर, केहिले भने लकडाउनलाई अवसरको रूपमा लिए र सफल पनि भएका छन्।

त्यस्तै मध्येका एक हुन ईलामका लक्ष्मण खत्री। नेपालमा लकडाउन हुनुपुर्व उनी काठमाडौंमै एक अनलाईन मिडिया हाउसमा काम गर्थे। जब लकडाउन सुरू भयो उनी गाउँ फर्किए। गाउँमा खेतबारी त्यसै बाँझो थियो र उनलाई केहि फरक किसिमको खेति गर्न मन लाग्यो।

काठमाडौंमा रहदा नै उनले ड्रयागन फ्रुटबारे सामाजिक संजाल मार्फत केहि अध्ययन गरेका थिए। ड्रयागन फ्रुटबारे ज्ञान पनि भएको र त्यसै बस्नु भन्दा बरू खेति गर्छु भनेर सुरू गरेको उनी बताउछन्।

उनले २०७७ साल जेठमा ४ रोपनि जग्गामा २ सय बिरूवा रोपे ड्रयागन फ्रुटको। ईलाममा ड्रयागन फ्रुटको व्यवसायीक रूपमा खेति गर्न आफूले नै सुरू गरेको उनी बताउछन्।

ईलामको माईजोगमाई गाउँपालिका वडा न.५ मा कुशिका एकीकृत कृषि तथा पशुपन्छी फर्म संचालन गरि व्यवसायीक रूपमा खेति गर्न थाले उनले।

उनले दुई प्रजातिको बिरूवा रोपे रातो र सेतो। रातो प्रजातिको बिरूवा दमकबाट किनेर ल्याएका थिए भने सेतो साथिहरूकोबाट हाँगा काटेर ल्याएर आफैले बिरूवा बनाएर रोपेका थिए। उनले भने ‘ईलामको पर्यावरणमा नयाँ प्रजातिको बिरूवा रोपे तर त्यसले फल दिने हो कि हैन भन्ने कुराले बेलाबेला चिन्तित हुन्थे’।

जब उनले ड्रयागन फ्रुटमा फुल फुलेको देखे उनी खुसी भए र झन हौसला बढ्यो। केहि राम्रो प्रजातिको बिरूवाले एक वर्षमै फल दिन थाल्यो तर धेरै फल नफलेको हुनाले उनले बिक्रि गरेनन्। यो प्रत्यक वर्ष जेठबाट फुल्न सुरू हुन्छ, फुलेको ४५ दिन भित्रमा पाकिसक्छ, ६/७ पटक सम्म फल्ने हुन्छ र असोज सम्म फल्छ।

यो वर्ष अर्थात २०७९ बाट उनले व्यवसायीक रूपमा बिक्रि गर्न थालेका छन। जेठको पहिलो हप्ताबाट बिक्रि थालेको र अहिले अब अन्तिम लट भएको उनले बताए।

उनले १ सय ५० केजि ड्रयागन फ्रुट बिक्रि गरिसकेका छन। बजार तथा फलफुल पसलमा प्रति केजि ७ सय देखि १ हजार सम्ममा बिक्रि हुने गरेको भएपनि आफूले प्रति केजि ५ सय रूपैयाँमै बिक्रि गरेको उनले सुनाए।

उनका अनुसार ३ लाख ५० हजार ड्रयागन फ्रुटको खेति गर्न खर्च भएको छ। पिलर बनाउन, घेर्न, टनेल बनाउन र कामदार गरि त्यति खर्च भएको हो।

उनले भने, “विशेष गरेर ड्रयागन फ्रुट नै हो र अहिले एभोगाड्रो पनि ६० बोट रोपेको छु र यसले पनि २ वर्षपछि फल दिन थाल्छ। बजारमा कुरीलोको पनि माग धेरै नै छ र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक नै छ र त्यसको पनि खेति गर्ने बिचार छ। अहिले ड्रयागनको बजार राम्रो छ। ४ सय देखि ५ सय केजि सम्म बिक्रि इलाममै हुन सक्छ। मेरो फर्मबाट व्यवसायीक रूपमा अहिले सम्म १५० केजि बिक्रि गरिसकेको छु। आगामी दिनमा अरूले पनि पक्कै यस्को खेति गर्नुहुन्छ र मेरो उत्पादन पनि बढ्छ त्यसकारण आगामि दिनमा बाहिर पनि यसको बजार खोज्नु पर्ने हुन्छ। मानिसहरू फर्ममै लिन पनि आउने गरेका छन।’

ईलाम बजारबाट ८ किलोमिटर भित्र छ उनले संचालन गरेको फर्म। उनले पनि अरू गाउँलेहरूबाट विभिन्न कुराहरू सुन्नु परेको थियो।

“यति राम्रो खेतमा धान मकै गर्न छाडेर खेतमा पिलर गाडेर यसले के गर्न खोजेको होला भन्थे” गाउँलेहरूले। आफूले जब केहि गर्ने लक्ष्य राखेपछि अरूले के भने भनेर सोच्नु भन्दा पनि निरन्तर लागि पर्नुपर्छ भन्ने मेरो सोच हो र त्यसकै कारणले आफू सफल भएको उनी सुनाउँछन्।

अहिले गाउँघरका किसानहरू बिरूवा हामीलाई पनि दे हामी पनि गर्छौ भनेर भन्न धेरै आउने गरेको उनले बताए।

उनले अहिले सम्म कसैलाई रोजगारी दिएर काममा राखेका छैनन तर काम पर्दा चाहिँ दैनिक ज्यालादरिमा राख्ने गरेको उनी बताउछन्।

उनको आगामी योजना ड्रयागन फ्रुटको खेतिलाई विस्तार गर्दै लग्ने र १५/२० रोपनिमा लगाउने रहेको छ।

उनले एक सिजनमा एउटा पिलरबाट ४० केजि सम्म फल निकाल्न सफल भए। स्थानिय सरकार प्रदेश सरकार र सम्बन्धित निकायबाट पाउने सेवा सुविधा बारे उनलाई थाहा छ तर अहिले सम्म त्यस्को लागि उनले आवेदन दिएका छैन, आगामि दिनमा योजना रहेको बताए। उनी यस कृषि व्यवसायमा सन्तुष्ट छन र यसमै रमाईरहेका छन्।

स्वास्थ्यको लागि पनि फाईदाजनक ड्रयागन 

ड्रयागन फ्रुटले हेमोग्लोबिन र इम्युनिटी पावर बढाउन, मद्दत गर्छ। ड्रयागन फ्रुट एन्टिअक्सिडेन्टको स्रोत हो र यसले मधुमेह नियन्त्रण, कोलेस्ट्रोल घटाउन, मुटुको स्वास्थ्य सुधार, तौल व्यवस्थापन, बुढ्यौलीसँग लड्न, दम बाट बचाउन मद्दत गर्छ।

गर्भवती महिलाको लागि उपयोगी र शरीरका कोशिकाहरूको पुनरुत्थानलाई बढावा दिन्छ।

ड्रयागन फलको पौष्टिक मूल्यमा फाइबर, फ्याट, प्रोटिन (३.५७५०, भिटामिन सी ९९.२ मिलीग्राम) र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ।


प्रतिक्रिया दिनुहोस्