पैसा तान्ने होडबाजीमा बैंकहरुः ग्लोबल आईएमईको ग्राहक झुक्याउने योजना!

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ३०


काठमाडौं । पछिल्लो समय बैंकहरु जसरी हुन्छ सर्वसाधारणबाट पैसा तान्ने होडबाजीमा उत्रेका छन्।

अपेक्षित रुपमा निक्षेप नबढेपछि बैंकहरु यस्तो प्रतिस्पर्धामा उत्रेका हुन।

विगत ६ महिनादेखि ब्याजदर स्थिर राखेका वाणिज्य बैंकहरुले असोजबाट भद्र सहमति तोड्दै निक्षेपको ब्याजदर बढाउने निर्णय गरिसकेका छन्।

यस्तो अवस्थामा अब बैंकहरु जसरी हुन्छ पैसा तान्ने स्ट्राटेजी अपनाइरहेको देखिन्छ।

प्रभु बैंकले फिक्स डिपोजिटमा १५ प्रतिशत दिने घोषणा गरिसकेको छ। बैंकले रेमिट्यान्स मुद्दति निक्षेपमा पैसा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको हो।

बैंकले असोज महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि रेमिट्यान्सको पैसामा मात्रै लागू हुने ‘प्रभु उन्नती मुद्दति निक्षेप’मा १५.१३ प्रतिशत ब्याज दिने जनाएको छ।

प्रभुपछि अब ग्लोबल आइएमई बैंकले पनि पैसा तान्ने योजना अघि सारेको छ। सो बैंकले आज एउटा भ्रामक विज्ञापन सार्वजनिक गर्दै फिक्स डिपोजिटमा २ बर्षमै पैसा दोब्बर हुने जनाएको छ।

झट्ट सुन्दा १ लाख जम्मा गरे २ बर्षमा २ लाख हुन्छ भन्ने यो विज्ञापनको वास्तविकता भने त्यस्तो छैन। बैंकले ग्राहकलाई झुक्याउन यस्तो गरेको हुनसक्ने टिप्पणी भइरहेका छन्।

यस्तो योजना सार्वजनिक भएपछि धेरैमा जिज्ञासा उत्पन्न भइरहेको छ। बैंकले यसबारले प्रष्टिकरण दिएको छ।

बैंकका अनुसार एकपटक निश्चित रकम छनोट गरेपछि तिन तिन महिनाको अनुपानमा १० प्रतिशतका दरले फेरि रकम जम्मा गर्नुपर्ने छ।

उदाहरणका लागी कसैले सुरुमा मुद्धती निक्षेप खाता खेलेर १ लाख जम्मा गर्यो भने दुई बर्षमा १० प्रतिशतका दरले १० हजार ७ पटक तिर्दा १ लाख ७० हजार हुनजान्छ। बैंकले दुई बर्ष पछि २ लाख दिनेछ।

यसरी हेर्दा दुई बर्षको ब्याज ३० हजार मात्र हुनआउँछ। माथि चार्टमा देखाइए अनुसार मुद्धती निक्षेपकर्ताले १०.६५ प्रतिशत ब्याजदर मात्र पाउने देखिन्छ। यो योजना चाडपर्वको अवसरमा ल्याइएको र विशेष गरि जागिरेहरूका लागि फाइदाजनक हुने बैंकले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्