हिन्दूराज्यको माग गर्दै नारायणी किनारमा अनशनरत कँडेलको स्वास्थ्य अवस्था बिग्रँदै

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : ०७


हिन्दूराज्यको माग गर्दै नारायणगढस्थित नारायणी नदी किनारमा आमरण अनशन बसेका प्रेमनिधि कँडेल भारतद्वाजको स्वास्थ्य अवस्था बिग्रिँदैै गएको छ । अनशनको आज सातौँ दिन उहाँको स्वास्थ्य विभिन्न समस्या बढ्दै गएका छन् ।

अनशनरत भारद्वाजको नियमित स्वास्थ्य परीक्षण गर्नुभएका डा प्रशान्त कँडेलका अनुसार उनको शरीरमा ग्लुकोज र ‘सोडियम’को मात्रा घटेको छ भने ‘युरिकएसिड’ र ‘विलुरुविन’को मात्रा बढ्दै गएको छ।

पिसाबमा युरिन एसिडोन बढेको उनले जानकारी दिए। उनले भने, “उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। स्लाइन दिनुपर्छभन्दा मान्नु भएको छैन।” तत्काल उपचारको प्रक्रिया अगाडि बढाउनुपर्ने डा कँडेलले बताए।

श्री गण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को आह्वानमा अध्यक्ष कँडेल आमरण अनशन बसेका हुन। उनले सनातन हिन्दूराष्ट्र घोषणाका लागि दबाव दिन आमरण अनशन सुरु गरेका हुन। उनी यसअघि पनि दुर्ई पटक आमरण अनशन बसिसकेका छन।

विसं २०७२ भदौ १४ गते १७ दिन आमरण अनशन बसेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले माग सम्बोधन हुने भन्दै अनशन तोडाएका थिए। संविधान घोषणा भएका दिन आन्दोलनमा उत्रिएपछि उनी पक्राउ परेका थिए।

उनकै अगुवाइमा २०७६ देखि नारायणी नदी किनारमा महाआरती हुँदै आइरहेको छ । रिले अनशनमा सनातन संस्कृति संरक्षणका अभियन्ता, सर्वसाधारणसमेत सहभागी भएका छन् । उनीसँगै दैनिक पाँच जना रिले अनशन बस्दै आएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्