पुटिनले युद्धमा होमिन बाध्य बनाउने त्रासपछि रुसका पुरुषहरुले देश छाड्न थाले!

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : ०६


काठमाडौं। युक्रेन युद्धका लागि जगेडा सैनिकहरूलाई बोलाउने रुसको निर्णयपछि त्यहाँका युवाहरु सरकारले युद्धमा होमिनैपर्ने बाध्यकारी नीति त ल्याउने होइन भनेर त्रसित भएका छन्।

बीबीसीका अनुसार यतिबेला रुसी पुरुषहरूले देश छाड्ने प्रयास गर्दा रुसको सिमानामा लामा लामहरू देखा परेका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए। उक्त निर्णयसँगै थप तीन लाख जना मानिसले युद्धमा सामेल हुनुपर्ने देखिएको छ।

यसरी अन्तर्राष्ट्रिय संचारमाध्यममा रुसी पुरुषहरुले देश छाडेर भागिरहेको भन्दै समाचार सम्प्रेषण भइरहँदा क्रेमलिनले भने लडाकु उमेरका पुरुषहरू भागेको भन्ने विवरणहरू अतिरञ्जित भएको बताएको छ।

तर जर्जियासँगको सीमामा युद्धबाट भाग्न खोज्ने पुरुषसहितका सवारीसाधनका कैयौँ किलोमिटर लामा ताँती बनेको देखिएका छन्।

नाम खुलाउन नचाहने एक व्यक्तिले बीबीसीका रेहान दिमित्रीलाई राष्ट्रपति पुटिनको घोषणालगत्तै आफू आफ्नो राहदानी समातेर सीमातर्फ हिँडेको बताए।

उनी पनि युद्धका लागि पठाउन सकिने सम्भावित समूहमा परेका थिए। केही प्रत्यक्षदर्शीले अपर लार्स जाँचचौकीमा कारहरूको लाइन करिब पाँच किलोमिटरसम्म लामो भएको अनुमान गरेका छन्।

War in Ukraine: Putin Sees Time on His Side But Russian Economy Is  Vulnerable - Bloomberg

त्यस्तै अर्को समूहले सीमा पार गर्न सात घण्टा लागेको बताएको छ। उक्त स्थानको भिडिओमा केही चालकले आफ्नो कार वा ट्रकलाई अस्थायी रूपमा रोकिएको ट्राफिकमा छाडेको देखाइएको छ।

जर्जिया रुसीहरूले भिसा आवेदन नदिई प्रवेश गर्न मिल्ने केही छिमेकी देशमध्ये एक हो। त्यस्तै रुसीहरूलाई यात्रा गर्न भिसा आवश्यक पर्ने अर्को छिमेकी देश फिनल्यान्डको रुससँग एक हजार तीन सय किलोमिटर सीमा जोडिएको छ।


प्रतिक्रिया दिनुहोस्