ब्याजदर वृद्धिप्रति महासङ्घको ध्यानाकर्षण

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ३५


नेपाल उद्योग वाणिज्य महासङ्घले बैंक वित्तीय संस्थाले यही असोज १ देखि लागू हुने गरी ब्याजदर वृद्धि गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ब्याजदर वृद्धिका कारण कोभिड महामारी तथा वित्तीय क्षेत्र असन्तुलनका कारण अप्ठ्यारोमा परेका उद्योगी व्यवसायी झन प्रभावित हुने महासङ्घले जनाएको छ।

बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको भन्दै महासङ्घले उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको जनाएको छ।

आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाको यस निर्णयले थप माथि लैजाने महासङ्घको ठहर छ।

सङ्कटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था रहेको जनाउँदै महासङ्घले विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगको प्रशंसा गरेको छ।

“तर पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरुत्साहित हुनेछ। अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा सङ्कट आउन सक्ने अवस्था सिर्जना भएको छ”, महासङ्घले भनेको छ। अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासङ्घले माग गरेको छ। रासस


प्रतिक्रिया दिनुहोस्