राजीनामा दिदै उपसभामुख तुम्बाहाङ्फे, संसद् भवनमै पत्रकार सम्मेलन

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ५ : ३२


काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गेर उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुहुने भएको छ। 

प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन उहाँले संसद् सचिवालयमा राजीनामा दिन लाग्नुभएको स्रोतले जनाएको छ।  

सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आउनुभएकी  उपसभामुख तुम्बाहाङ्फेले आइतबार नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभएको थियो। 

आफ्नो गल्ती के हो भन्दै प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नुभएकी तुम्बाहाङ्फेलाई ओलीले पार्टीको अवस्था बुझाउँदै आफूलाई सघाउन आग्रह गर्नुभएको थियो। ओलीको आग्रहपछि उहाँले राजीनामा दिन लाग्नुभएको हो। 

अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। बैठक बस्नुअघि तुम्बाहाङ्फेले राजीनामा दिने र आजको बैठक जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले सञ्चालन गर्नुहुने स्रोतले जनाएको छ।

संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने बताइएको छ। सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ।

आइतबार नेकपा सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो। 


प्रतिक्रिया दिनुहोस्