साफ जिताउने गोलकिपर रुपनाको घर बंगलादेश सरकारले बनाइदिने

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ५ : ०९


एजेन्सी । साफ महिला च्याम्पियनसिप जिताउन उत्कृष्ट भूमिका खेलेकी गोलकिपर रुपना चक्माको घर बंगलादेश सरकारले बनाइदिने भएको छ ।

प्रतियोगिताकै उत्कृष्ट गोलकिपर भएकी रुपनाको घर त्यहाँको सरकारले बनाइदिने भएको हो । नेपाललाई ३-१ गोलले हराउने क्रममा कयौँ प्रहारहरुलाई निस्तेज पारी टोलीलाई उपाधी जिताउन उनको ठुलो भूमिका थियो ।

बंगलादेशको नानिआर्चर उपजीलाकी बासिन्दा रुपनाको घरको स्थिति निकै कमजोर रहेको छ । कमजोर स्थिति भए पनि देशलाई उपाधि जिताउन उनले खेलेको भूमिकाको मधयनजर गर्दै सरकारले घर बनाइदिने भएको हो ।
रुपनाले मंगलबार आफ्नो फेसबुकमा यो जानकारी गराउँदै सरकारी प्रतिनिधिलाई धन्यवाद पनि दिएकी छिन् ।

बंगलादेशले सोमबार साफ च्याम्पियनसिपको उपाधि जितेपछि रंगमती जिल्लाका कमिस्नर मोहमद मिजानुर रहमान उपहार र नगद पुरस्कार दिन नानिआर्चर पुगेका थिए । एकै ठाउँका रुपना र ऋतु पुरना चक्मालाई जनही १ लाख ५० हजार टाँका नगद पुरस्कारसहित सरकारी टोली निवास पुगेको थियो ।

तर त्यहाँ पुगेपछि गाउँमा रहेको रुपनाको घरको कमजोर स्थिति देखेपछि सरकारले घर बनाउने रहमानले बताए । काठमाण्डौँबाट साफको उपाधि उचालेर बंगलादेशको टोली बुधबार दिउँसो बंगलादेश पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्