आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ३ : ००


काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संसदको पाँचौँ अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो। यसअघि पटक–पटक सूचना टास गरेर बैठक स्थगित हुँदै आएको थियो। 

आइतबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने घोषणा गरेको थियो। उक्त घोषणासँगै संघीय संसद सचिवालयले आजदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्नेछ। 

प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्का छ।

प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गर्नुभएको थियो। दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्नुहुनेछ। 

प्रतिनिधिसभा बैठक सञ्चालन नियममावलीअनुसार उपसभामुखले सोमबार बैठक शुरु हुनुपूर्व नै राजीनामा दिएको अवस्थामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस्