मापसेपछि ग्याङ फाइटः तीन घाइते, दुई गम्भीर

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ११


विराटनगर । मोरङको धनपालनथान गाउँपालिका ४ हरकपुरमा शनिबार राती मादक पदार्थ सेवन (मापसे) पछि युवा बीचमा उत्पन्न विवाद ग्याङ फाइटमा परिणत भएको छ। 

ग्याङफाइटमा तीनजना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर छ। ४२ वर्षीय विसुनदेव मुखिया, ३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शंकर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह बीच ग्याङ फाइट भएको हो। 

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले घटनामा विसुनदेव, बलराम र किसुन घाइते भएको बताउनुभयो। घाइतेमध्ये विसुनदेव र बलरामको अवस्था गम्भीर रहेको दाहालको भनाइ छ।

 चिन्ताजनक अवस्थामा विराटनगरको न्युरो अस्पतालमा उपचाररत विसुनदेवको टाउकोको शल्यक्रिया गरिएको र दुवैजनाको आइसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गोल्डेन अस्पतालमा उपचाररत किसुनको टाउकोमा सात टाँका लगाइएको भएपनि अवस्था खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको प्रनि दाहालले बताउनुभयो। 

प्रहरीका अनुसार कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा दुई युवाहरु हरिओम र धनीरामबीच विवाद सुरु भएको थियो। होटलबाट निस्किएर अघि बढेका उनीहरुले फोन गरेर आ–आफ्ना मान्छेलाई बोलाएपछि दुवै पक्षबीच ग्याङ फाइट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रनि दाहालले बताउनुभयो। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्