रुसविरुद्धको अमेरिकी प्रतिबन्ध उल्लंघन गर्नु चीनको गल्ती हुनेछः बाइडेन

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ५ : ३१


काठमाडौं। गत फेब्रुअरीमा जब रुसले युक्रेनलाई आक्रमण गरेको थियो त्यसयता अमेरिका लगायत पश्चिमा राष्ट्रले रुसमाथि आर्थिक प्रतिबन्धहरु लगाएको छ।

अमेरिकाले रुसबाट तेल तथा ग्यास खरिद गर्न छाडेको छ भने रुसी धनाढ्य तथा शीर्ष अधिकारीहरुलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ।

यसक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसविरुद्धको अमेरिकी प्रतिबन्ध चीनले उल्लंघन गर्नु त्यो गल्ती हुने बताएका छन्।

आफूले प्रतिबन्ध लगाएको रुससँग चीनले कारोबार गर्न नहुने, उक्त देशलाई हतियार बेच्न नहुने उनको भनाइ छ।

यसैहप्ताको आइतबार सीबीएस टेलिभिजनसँग कुराकानी गर्दै बाइडेनले भनेका छन्,‘रुसमाथिको अमेरिकी प्रतिबन्ध तोड्दै चीनले कुनै कार्य गर्छ भने त्यो उसको गल्ती हुनेछ। त्यो उनीहरुको निर्णय हो तर अमेरिकी कुनै कम्पनीले चीनमा त्यसउता लगानी गर्ने छैन।’

बाइडेनले चीनले रुसलाई हतियार दिएको विषयमा हालसम्म थाहा नभएको पनि उल्लेख गरे।

गतहप्ता मात्र उज्बेकिस्तानमा आयोजित सांघाई सहयोग संगठनको बैठकमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको थियो।

पुटिनले युक्रेन द्वन्द्वमा सन्तुलित व्यवहार देखाएको भन्दै चीनको प्रशंसा पनि गरेका थिए। पुटिनले सो क्रममा एकध्रुवीय विश्व बनाउने अमेरिकी प्रयास असफल हुने बताएका थिए।


प्रतिक्रिया दिनुहोस्