सेन खनिए खनालसँग, भनेः अमेरिकामा कलाकार लुक्ने ट्रेन्ड बसाउने तपाइँ नै हो

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : ४४


काठमाडौं। बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’का निर्माता सन्तोष सेन र अभिनेता सरोज खनालबीच चर्काचर्की भएको छ।

यस क्रममा सेनले अमेरिकामा कलाकार लुक्ने ट्रेन्ड बसाल्ने कलाकार सरोज खनाल भएको आरोप लगाएका छन्।

सरोजकै कारण अहिले अमेरिकाले राम्रो कामका लागि पनि कलाकारलाई भिषा नदिने गरेको उनको भनाइ रहेको छ।

गत शनिबार ‘प्रेम गीत ३’ युनिटले काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा चलचित्र विकास बोर्ड र अध्यक्ष भुवन केसीको आलोचना गरेको थियो। यसबीचमा सरोज भुवनको बचाउमा उत्रिएपछि निर्माता सेन सरोजसँग आक्रोशित बने।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘आदरणीय सरोज दाइ, तपाईं जस्तो दिग्गज कलाकार, अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले यतिसम्म हावा अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेको थिइन। एउटा रजतपटमा तपाई मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो त्यही अभिव्यक्ति दिँदै हिँड्नुपर्छ? प्रेम गीतको बेला तपाईंसँग मेरो दोहोरो कुरा कहिल्यै भएन, दोस्रो प्रदीपले सक्दैन कि सक्दैन कि भनेको तपाईं कै निर्देशकको भनाइ हो। अली सुन्दा लाज हुने अभिव्यक्ति दिँदै नहिँड्नु होला। स्वयम् प्रदीपलाई सम्म यो कुरा सुन्दा लाज भयो होला।’

उनले अगाडि भनेका छन्, ‘तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बसाली दिनुभयो। आज त्यसको नतिजा अहिले राम्रो कामको लागि पनि कलाकारले भिसा पाउँदैनन्।’


प्रतिक्रिया दिनुहोस्