युद्ध हार्दै गइरहेको रुसले युक्रेनलाई रोक्न आम नागरिकमाथि आक्रमण थाल्यो!

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : २८


काठमाडौं। रुस र युक्रेनबीच युद्ध सुरु भएको सात महिना पुरा हुन लागेको छ। रुसले केहीदिनमै युक्रेन कब्जा गर्ने अनुमान थियो।

तर कल्पना विपरित युक्रेनले लगातार रुसलाई रोक्न सफल भएको छ। अमेरिका लगायत पश्चिमा राष्ट्रबाट अत्याधुनिक हतियार पाएपछि युक्रेनी सेनाले यतिबेला रुसी सेनालाई विभिन्न ठाउँबाट लखेट्न सफल भइरहेको हो।

युक्रेनले यसअघि रुसले कब्जा गरेका क्षेत्र पुनः नियन्त्रणमा लिन थालेको छ। बेलायतले युद्ध हारिरहेको रुसलाई घाइतेको संज्ञा दिएको छ।

बेलायतका अनुसार युद्धमा पराजय व्यहोरिरहेको घाइते रुसले युक्रेनी सेनालाई रोक्न आवसीय भवन तथा अस्पतालहरुमा आक्रमण गर्नसक्छ।

बेलायती रक्षा मन्त्रालयका अनुसार पछिल्लो सात दिनको अन्तरालमा रुसी सेनाले युक्रेनी नागरिकको घरहरुमा आक्रमण गरेका छन् र त्यहाँको अस्पतालमा आक्रमण भएको देखिएको छ।

बेलायती अधिकारीहरुका अनुसार युक्रेनी सेनाको मनोबललाई घटाइदिन रुसले युक्रेनी आम नागरिकहरुको आवासमा आक्रमण गर्ने सम्भावना प्रबल छ।

मायकोलाइभका गभर्नर भिटाली किमका अनुसार रुसी सेनाले सो क्षेत्रको एक अस्पतालाई निशाना बनाउँदै त्यहाँ रातभर गोली चलाएको छ।

यस्तै निकोपोलका क्षेत्रीय गभर्नर भ्यालेन्टाइन रेज्निचेकोका अनुसार रुसी सेनाले मानिसहरु बस्ने घरहरुमा रातभर गोली चलाउँदा मानिसहरु ज्यान जोगाउन ती क्षेत्र छाडेर जानुपर्ने अवस्था छ। सो गोलाबारीमा तीनजना घाइते भएका छन्।

यस्तै खारकिभका गभर्नर ओलेह सिनीहुबोभले पनि पछिल्लो केही दिनमा रुसी सेनाहरुले नागरिक लक्षित आक्रमण गर्दा ११ वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको बताएका छन्।

उता डोनेट्स्क क्षेत्रमा रुसले गतहप्ता आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ। जुन क्षेत्रबाट रुसी सेनाहरु भागे अहिले सोही क्षेत्रका नागरिक लक्षित आक्रमण भइरहेको देखिएको छ। युएसन्युज डटकम


प्रतिक्रिया दिनुहोस्