एक गोल नखाई फाइनलमा पुगेको नेपालले हराउला बंगलादेशलाई ?

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ४८


काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दा दुवैको लागि आज इतिहास रच्ने मौका छ।

सोमबार साँझ ५ बजे घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिदैछ।

उता पाहुना टोली बंगलादेश पनि पहिलो पटक साफको उपाधि जित्दै इतिहास रच्ने दाउमा छ। रोचक त के भने यी दुवै टिमले जारी प्रतियोगितामा एक गोल पनि खाएका छैनन्। अहिले यीनै दुई टिम आमनेसामने हुँदै उपाधि जितेर इतिहास रच्ने होडमा छन्।

साफ महिला च्याम्पियनसिप पाँच पटकसम्म जितेको भारतलाई सेमिफाइनलमै हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो।

भारतलाई १–० गोलले हराउँदै फाइनल प्रवेश गरेको नेपाल घरेलु मैदानको फाइदा उठाउँदै उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ। पहिलो पटक भारतलाई हराएर इतिहास रचेको नेपाल उपाधि जित्दै अर्को इतिहास रच्ने दाउमा छ। समूह चरणको खेलमा बंगलादेशले पनि भारतलाई ३–० गोल अन्तरले हराएको थियो।

नेपालका लागि यो फाइनल खेल पाँचौ हो भने बंगलादेशका लागि दोस्रो हो। पाँच पटकसम्म फाइनल पुग्दै उपाधिविहीन बनेको नेपाल यो पटक भने उपाधि रक्षाका लागि निकै बलियो देखिएको छ।

 

 


प्रतिक्रिया दिनुहोस्