काठमाडौं। जलवायु परिवर्तनका कारण आएको असामान्य रूपमा भारी मुसलधारे वर्षाले देशको एक तिहाइ भाग डुबानमा परेको र १ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएपछि पाकिस्तानले ताजा बाढी र थप मृत्युको जोखिम सामना गरिरहेको छ।
कतिपय क्षेत्रमा पानी कम हुन थाले पनि छिमेकी भारतका केही भागमा भारी वर्षाले पाकिस्तानका प्रमुख नदीहरू बग्न सक्ने अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले थप सम्पत्ति र जीवनको क्षतिबाट बच्न पाकिस्तानका केही क्षेत्रबाट मानिसहरूलाई बाहिर निकाल्न सुझाव दिएको छ। पाकिस्तान एक दशकपछिकै ठूलो बाढीको चपेटामा परेको छ। विनाशकारी बाढीले क्षति पु(याउँदा लाखौँ मानिस विस्थापित छन्।
बाढीले झन्डै साढे ३ करोड पाकिस्तानी प्रभावित भएका छन्। बाढीबाट १० अर्ब डलरबराबरको क्षति भएका अनुमान छ। पहिले नै आर्थिक संकटमा परेको देशका लागि यसको प्रभाव थप विनाशकारी सावित भएको छ। बाढीले ठूलो असर गरेपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने क्रम बढ्दो छ।
पाकिस्तानमा अहिले आएको विनाशकारी बाढी र त्यसले देशमा पु¥याएको क्षतिलाई विज्ञहरूले जलवायु परिवर्तनको परिणामसँग जोडेका छन्।
दक्षिण एसियाका अन्य देशजस्तै पाकिस्तान पनि मनसुन र वर्षाका लागि अभ्यस्त छ। म्यासाचुसेट्सको वुडवेल क्लाइमेट रिसर्च सेन्टरका जलवायु वैज्ञानिक जेनिफर फ्रान्सिसका अनुसार जलवायु परिवर्तनले चरम वर्षा भएको हो।
पाकिस्तान जलवायु परिवर्तनका दृष्टिले विश्वका जोखिम देशहरूमध्ये एक हो। वर्षा, गर्मी र पग्लिने हिमनदी सबै जलवायु परिवर्तनका कारक हुन्, जसबारे वैज्ञानिकहरूले बारम्बार चेतावनी दिँदै आएका छन्।