यी नेपाली खेलाडी जसले विपक्षीलाई माझी औला देखाउँदा पाए रातोकार्ड!

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १२ : १८


काठमाडौं। एएफसी यू–२० च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग आइतबार ३–० ले पराजित भयो।

खेलको पहिलो हाफमै नेपाल २–० ले पछि पर्दा नेपालका कप्तान आयुष घलानसहित दुई खेलाडीले रातो कार्ड पाएका थिए।

खेलको छैटौं मिनेटमा नै बंगलादेशले अग्रता लिएको थियो। मोजिबोर जोनीले नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै गोल गरेका थिए।

यस्तै दशौं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो। फ्रिकिकमा आएको बललाई नेपाली डिफेन्सले क्लियर गर्न नसक्दा मोहमद पियास नोभाले गोल गरे।

खेलको २६ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो। नेपालले फ्रिकिक लिने क्रममा डिफेन्डर अजय चौधरीले बंगलादेशका खेलाडीमाथि कुइनोले प्रहार गरेको भन्दै रेफ्री अहमद इसा दार्विसले रातो कार्ड देखाएका थिए।

यस्तै खेलको ३५ औं मिनेटमा नेपालका कप्तान आयुष घलान पनि रातो कार्ड खाँदै बाहिरिएका थिए।

खेलको २० औं मिनेटमा सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका आयुष विपक्षी खेलाडीलाई माझी औंला देखाएपछि रातो कार्ड खाँदै बाहिरिएका हुन्। आयुषले हात मिलाउने क्रममा बंगलादेशका अजिजुल हक अनन्तोले जिस्काएपछि जवाफ फर्काउने क्रममा आयुषले माझी औंला देखाएका थिए।

आयुष मात्र नभएर केहि सेकेन्ड अघि मात्र पहेंलो कार्ड पाएका अनन्तो पनि उक्त हर्कतपछि दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए

त्यसपछि दोस्रो हाफको ५२ औं मिनेटमा बंगलादेशले अर्को एक गोल गरेको थियो।

खेलसँगै नेपाल समूहको एकमात्र अंकविहिन टोली बन्यो। कतारको ३ खेलमा ९ अंक, बहराइनको ३ खेलमा ७ अंक तथा बंगलादेशको ४ खेलमा ७ अंक छ। यस्तै भुटानले ४ खेलमा ३ अंक जोड्यो। भुटानले नेपाललाई २-० ले हराएको थियो।


प्रतिक्रिया दिनुहोस्