चीनले आक्रमण गरे अमेरिकी सेनाले ताइवानको रक्षा गर्छः बाइडेन

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १० : ४०


न्युयोर्क। अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले अतिक्रमण गरे अमेरिकाले ताइवानको रक्षा गर्ने बताएका छन्।

बीबीसीका अनुसार चिनियाँ फौजले ताइवानमाथि हमला गरे अमेरिकाले के गर्छ भन्ने पृष्ठभूमिमा राष्ट्रपति वाइडेनको सो भनाई आएको हो।

अमेरिकी सेनाले चीनले दाबी गरेको स्वशासित टापुको रक्षा गर्छ कि गर्दैन भनेर सोधिएको एक प्रश्नमा उनले अमेरिकी सेनाले टापुको रक्षा गर्ने बताएका हुन्।

केही महिनाअघि अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएको छ।

चीनको चेतावनीबीच पेलोसीले ताइवानको भ्रमण गरेकी थिइन। उनको भ्रमणपछि चीनले ताइवानको रक्षा क्षेत्रमा हवाइ गस्ती बढाएको थियो।

चीन र ताइवान विवाद के हो?

चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्।

चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ। पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ।

तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ। चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ।

चीनले गत दुई वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका छन्। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ।

अमेरिकाले भने यतिबेला हाकाहाकी ताइवानको रक्षा गर्ने बताइरहेको छ।


प्रतिक्रिया दिनुहोस्