एमसीसी इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको दिनको घामझैँ छर्लङ्ग : मसाल

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ११ : ४०


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले युएसएडमार्फत अमेरिकी विदेश नीति विश्वका अन्य मुलुकहरूमा प्रभावकारी ढङ्गबाट लागू हुन नसकेपछि यसको विकल्पमा एमसीसीलाई अगाडि सारिएको बताएको छ । प्रवक्ता रामप्रकाश पुरीले जारी गरेको विज्ञप्तिमा एमसीसीमार्फत अमेरिकाले युएसएडले प्रभावकारी बनाउन नसकेको अमेरिकाको विदेश नीतिलाई प्रभावकारी बनाउन चाहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिको पूरा पाठ
अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे दिएको पछिल्लो स्पष्टीकरण सार्वजनिक भएको छ । उक्त स्पष्टीकरणअनुसार एमसीसी इन्डोप्यासिफिक रणनीतिको अङ्ग होइन भनिएको छ । पहिले काठमाडौँस्थित अमेरिकी दूतावास र अमेरिकी स्टेट असिटेन्ट सेक्रेटरी मिसेज एलाइस वेलका वक्तव्यहरूमा एमसीसी इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा सार्वजनिक भइसकेको छ । अहिले एमसीसीको विषयलाई लिएर नेपालमा व्यापक विरोध भइसकेपछि त्यसबाट ध्यान हटाउनका लागि अमेरिकी दूतावासले पहिले आफूले सार्वजनिक गरेका वास्तविकताहरूमाथि पर्दा हाल्ने प्रयत्न गरेको प्रष्ट छ ।

एमसीसीलाई नेपालको संसदबाट अनुमोदन गराउनको लागि भएको प्रयत्नका विरुद्धमा समेत व्यापक विरोध भइरहेको छ । एमसीसी आर्थिक परियोजना भएपनि आइपीएसको अङ्ग हो । यो कुरा कसैबाट लुकेको छैन कि अमेरिकाले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न सैन्य तथा आर्थिक सहयोग परिचालन गर्ने गरेको छ । आर्थिक सहयोग आफैमा त्यो उसको सैन्य रणनीतिको अङ्ग हो । युएसएडमार्फत अमेरिकी विदेश नीति विश्वका अन्य मुलुकहरूमा प्रभावकारी ढङ्गबाट लागू हुन नसकेपछि यसको विकल्पमा एमसीसीलाई अगाडि सारिएको हो । अर्थात एमसीसीमार्फत अमेरिकाले युएसएडले प्रभावकारी बनाउन नसकेको अमेरिकाको विदेश नीतिलाई प्रभावकारी बनाउन चाहेको छ । अमेरिकाको विदेश नीति भनेकै साम्राज्यवादी नीतिलाई अगाडि बढाउनु हो । नेपालको राजनीतिक क्षेत्रमा समेत अमेरिकी साम्राज्यवादको राजनीतिक प्रभाव बढ्दै गइरहेको छ । 

अर्कोतर्फ त्यसको पूरकको रूपमा भौतिक पूर्वाधार विकासको नाममा आर्थिक सहयोग एमसीसीको आवरणमा अगाडि बढाउने प्रयत्न सरकारले गरिरहेकोमा त्यसको हाम्रो पार्टीले विरोध गर्दछ । अमेरिकी दूतावासले आर्थिक सहयोगमार्फत फैलाउने साम्राज्यवादी रणनीतिमाथि पर्दा हाल्न एमसीसीका बारेमा अगाडि सारेका कथित १० बुँदे स्पष्टीकरणको कुनै अर्थ छैन । एमसीसी अमेरिकन इन्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा दिनको घामझैँ छर्लङ्ग छ । त्यसैले दूतावासले दिएको १० बुँदे ‘स्पष्टीकरण’को भ्रममा नपर्न हामी सम्पूर्ण जनताको ध्यानाकर्षण गर्दछौँ । साथै त्यसका विरुद्ध उत्रिने सबै शक्तिहरूसँग सामान्जस्यता कायम गरी सङ्घर्षलाई अगाडि बढाउने कुरामा जोड दिन्छौँ ।

रामप्रकाश पुरी
प्रवक्ता
मिति : २०७६ माघ ५ गते


प्रतिक्रिया दिनुहोस्