सुकुम्वासीको नाममा हुकुमवासीले राज गर्ने परिपाटीको अन्त्य हुन्छ : मन्त्री अर्याल

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ११ : ०३


कैलाली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पटके सकुम्बासीको अन्त्य गर्ने बताउनुभएको छ । भूउपयोग ऐन तथा प्रस्तावित भूमिसम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापनसम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारीसँगको मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

राज्यले एकपटक मात्र सम्बोधन गर्ने भन्दै मन्त्री अर्यालले पटकपटक सुकुम्बासी हुने कुराको अन्त्य गरिने बताउनुभयो । ‘अब पटके सुकुम्बासीको अन्त्य हुन्छ । सुकुम्बासी एकपटक हुन्छ, पटकपटक हुँदैन’, मन्त्री अर्यालले भन्नुभयो । सबै सुकुम्बासी, भूमिहीन, अव्यवस्थित बसोबासीको समस्या यसैपटक समाधान गरिने मन्त्री अर्यालको भनाइ थियो ।

भूमि व्यवस्थापन भनेको समग्र भूमिको व्यवस्थापन रहेको बताउँदै उहाँले भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार लागेको बताउनुभयो । विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसकेपनि अब सरकार १३ औं आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको बताउनुभयो । सामाजिक न्यायका निम्ति पनि यो देशका भूमिहीन, सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउनुपर्ने भन्दै उहाँले भूमि ऐन आठौं संशोधनमार्फत भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजेको बताउनुभयो ।

भूमि बेचबिखन गर्ने कार्यमा सहजिकरण गर्नेगरी भूमि बैंकको कन्सेप्ट ल्याइएको समेत उहाँले बताउनुभयो । अब उत्पादनको बृद्धि र रोजगारीको सृष्टिमा जानुपर्ने भन्दै हरेक निकाय उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । विकासको मोडेलमा छलफल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले सहकारीलाई परिचालन गर्नसके चौतर्फी फाइदा हुने बताउनुभयो । संविधानले समाजवादमा जाने लक्ष्य लिएको बताउँदै त्यसका लागि ढिलो भइसकेको र समाजवादलाई पछ्याउने अभियानको थालनी गर्न आग्रह गर्नुभयो । ‘हिजो हामी भाषण गर्ने ठाउँमा थियौं । अब काम गर्ने ठाउँमा आएका छौ, काम गरौं’, उहाँले भन्नुभयो ।

विगतको अभ्यासअनुसार वितरण प्रणालीमार्फत जान खोजेको भन्दै मन्त्री अर्यालले सुकुम्बासीको नाममा हुकुमबासीले राज गर्ने कार्यको अन्त्य गरिने बताउनुभयो ।  राज्यको हित गर्नुपर्ने काममा लाग्न स्थानीय तहका नेतृत्वलाई आग्रह गर्दै मन्त्री अर्यालले हातखुट्टा नकमाएर काम गर्न आग्रह गर्नुभयो । 

सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्री बिनिताकुमारी चौधरीले भूमिसम्बन्धी सबै समस्या ऐनले सम्बोधन गर्ने बताउनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्