जगदम्बा स्टिलमा नेपाली कामदार बढाउन निर्देशन

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ११


काठमाडौँ । संसदीय समितिले वीरगञ्जमा रहेको जगदम्बा स्टिलमा नेपाली कामदार कम रहेको भन्दै आगामी दिनमा नेपाली कामदारको सङ्ख्या बढाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मातहतको उपसमितिले वीरगञ्ज औद्योगिक करिडोरमा रहेको उद्योगको स्थलगत अनुगमन गरी नेपाली कामदार कम रहेको भन्दै तत्काल नेपाली कामदार बढाउन निर्देशन दिएको छ । 

उपसमितिले आज समितिमा पेश गरेको प्रतिवेदनअनुसार उद्योगमा रहेका कर्मचारी तथा कामदारमध्ये ५८ प्रतिशतमात्र नेपाली रहेको पाइएकाले आउँदा दिनमा नेपाली कामदारलाई प्राथमिकता र प्रोत्साहन दिनेगरी आवश्यक कार्य गर्न उपसमितिले निर्देशन दिएको  छ ।

औद्योगिक क्षेत्रको सञ्चालनमा प्रर्याप्त स्थानको कमी देखिएकाले थप जग्गाको व्यवस्था गर्नेतर्फ पहल गर्ने र अन्डर ग्राउन्ड भण्डारणको व्यवस्था गर्ने, उद्योगबाट गरिने कार्यहरु अत्यन्त जोखिम र संवेदनशील रहेको हुँदा कामदारको सुरक्षाका लागि टोपी, जुत्ता र सुरक्षा कवच अनिवार्य रुपमा प्रयोग गर्नेतर्फ ध्यान दिन निर्देशन दिएको छ । 

समितिले गत मङ्सिर १९ देखि २१ गतेसम्म सभापति विमलप्रसाद श्रीवास्तवको नेतृत्वमा औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।

अनुमगनका क्रममा संसदीय समितिले याक ब्रुअरी, सूर्य नेपाल, जगदम्बा स्टिलमा गई उद्योगको उत्पादनको अवस्था, कर्मचारीलगायत समग्र व्यवस्थापकीय पक्षमा रहेको कार्य व्यवस्था, समस्या एवम् चुनौतीका विषयमा छलफल गरेको थियो। 

अनुमगनका क्रममा जगदम्बा स्टिलमा ४० प्रतिशतभन्दा बढी कामदार विदेशी रहेको पाइएको थियो । नेपाली कामदारलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरेको, श्रमिकको जोखिमको सुरक्षालाई ध्यान दिइएको थियो । 

स्थलगत अनुगमनका आधारमा उपसमितिले प्रकाश रसाइलीको संयोजत्वको टोलीले तयार तयार पारेको प्रतिवेदन आज पेश गरेको हो ।

समिति सभापति श्रीवास्तवले उद्योगको समग्र अवस्थाको अध्ययनपछि केही सुरक्षात्मक विषयमा ध्यान दिन गरेको सिफारिसलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने जानकारी दिनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्