निलम्बित प्रधानन्यायाधीश काममा फर्कन पाउँदैनन्: चण्डेश्वर श्रेष्ठ

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  २ : ३८


काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तत्काल सर्वोच्च अदालत फर्कन नसक्ने बताएका छन्।

प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म जबरा सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने उनले बताए।

प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै जबरा आजबाट काममा फर्कने तयारी थिए।

तर, उनलाई सरकारले निवासमै नजरबन्दमा राखेको खबर बाहिरिएको छ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबरा काममा फर्कन नसक्ने बताए।

उनले भने, ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि विद्यमान विकृति, विसंगति, भ्रष्टाचारले जबसम्म मुक्ति पाउँदैन तबसम्म नेपाल बारको आन्दोलन रोकिँदैन। महाअभियुक्तिले आफूले गरेको अपराध जेजस्तो भए पनि सफाइ पाउनुपर्दछ भन्छन्। तर संविधान र कानुनले महाअभियुक्तलाई कारबाही सुरुवात भइसकेपछि जबसम्म त्यसको टुंगो लाग्दैन, तबसम्म त्यो महाअभियुक्त महाअभियोगको प्रस्तावमा छलफल चलेर टुंगोमा पुग्दैन, तबसम्म उसले काम गर्न नपाउने भनेको नै छ। त्यसकारणले गर्दाखेरी ऊ सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको हैसियतले निलम्बित प्रधानन्यायाधीश सर्वोच्च अदालतमा आउन सक्दैन। महाअभियोगको प्रस्ताव छलफल भएर कारबाही प्रारम्भ भइसके पछाडि त्यो कारबाहीको टुंगो नलागुन्जेलसम्म उसले आफनो काममा फर्कन पाउने छैन भन्ने संविधान धारा १०१ को उपधारा ६ मा प्रष्ट लेखिएको छ।’

 


प्रतिक्रिया दिनुहोस्