जबराले ‘नजरबन्द’मा राखेको भनेपछि मानवअधिकार आयोगको टोली बालुवाटारमा

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  २ : ०५


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबराको निवासमा पुगेको छ । जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।

‘प्रधानन्यायाधीसलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले भने ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उनले आजबाट काममा फर्कने तयारी गरेका थिए ।

तर सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी उनको निवासमा खटाएको छ र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्