तलव नलिने वाणगंगाका एक्ला वडाअध्यक्ष, जसले जोडे स्कुलमा ‘सीसीटिभी’

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  २ : २३


काठमाण्डौँ । गत वैशाख ३० गते  स्थानीय तहको निर्वाचनमा आफूले सरकारको कुनै तलव नखाई काम गर्ने उद्घोष गरी चुनाव जितेका कपिलवस्तुका एक वडा अध्यक्षले आफूलाई आउने तलवबाट विद्यालयमा ‘सीसीटिभी’ क्यामेरा जडान गरेका छन् । वाणगंगा नगरपालिकाको वडा नम्बर १ मा बाट वडा अध्यक्ष जितेका सञ्जु शारुले आफ्नो तलबबाट सोही वडाको एक स्थानीय सिद्धार्थ माध्यमिक बिद्यालयमा सीसीटिभी जडान गरेका हुन् ।

गत जेठमा पदभार ग्रहण गरेका उनले असोज महिनासम्म आइपुग्दा नगरपालिकाबाट कुनै तलव लिएका छैनन् । तलबबाट आउने अहिलेसम्मको ८६ हजार बराबरको रकम उनले सिसिटिभीमा लगानी गरेको बताए ।

सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षासंगै सुरक्षाको पनि उत्तिकै आवश्यकता रहेको बताउँदै उनले दैनिक अनलाइनसंग भने  ‘म जनताको सेवक हुँ । सेवा गर्न आएको हुँ । तलब खान आएको होइन । मेरो कार्यकालभरिको आउने रकम शैक्षिक, मानवीय र सामाजिक काममा खर्च गर्ने छु । यो सुरुवात् हो । यस प्रविधिको उचित सदुपयोग गर्न  विद्यालयलाई आग्रह गर्दछु ।’

बिद्यालयका प्रधानाध्यापक इश्वर थापाले वडाध्यक्षको काम अनुकरणीय रहेकोमा धन्यबाद दिँदै चुनावी घोषणालाई वडा अध्यक्षले व्यवहारमा देखाएको बताए । विद्यालयमा क्यामरा जडान गरिदिएकोमा शारुलाई सम्मान गरिएको थियो ।  बाणगंगामा तलब नखाएर आउने पैसा सामाजिक काममा खर्च गर्छु भन्ने उनी एक्ला वडा अध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस्