पूर्वमा ‘अब्बल’ बन्दै विर्तामोड उद्योग वाणिज्य संघ, नेतृत्वलाई दियो यस्तो सुझाव

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १२ : ३२


चन्द्रकान्त न्यौपाने ।

काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध रहेर अहिले नेपालभर १ सय १८ वटा उद्योग वाणिज्य संघ छन् । यीमध्ये कतिले आफ्नो अस्तित्व नै जोगाउन नसक्ने अवस्थामा छन् भने कतिपयले धेरै उदाहरणीय काम गरी व्यवसायीको हकहितको लागि काम गरिरहेका छन् । यस्तै उदाहरणीय काम गर्ने संघको रुपमा पूर्वको झापास्थित विर्तामोड उद्योग वाणिज्य संघ रहेको छ । राजनैतिक, आर्थिक र सामाजिक रुपमा निकै महत्व राख्ने झापामा पहिलो नम्बरमा रहेको नविर्तामोड उद्योग संघले गरेका कामहरु कम अनुकरणीय छैनन् ।

वि सं २०३८ सालमा स्थापना भएको संघमा अहिले ५१ सयको हाराहारीमा उद्योग, कृषि, ब्यापार, व्यवसायका फर्म आवद्ध रहेका छन् । महासंघका काम कारबाहीबाट आंशिक सन्तुष्ट रहेको यस संघले आर्थिक लाभ लिने काम मात्र गरेको देखिँदैन उसका गतिविधिबाट समुदाय पनि लाभान्वित भएका छन् । साविकदेखि अहिलेसम्म संघले १८ वटा नेतृत्व पाएको छ । यो नेतृत्वसंग आइपुग्दासम्म संघमा अनेक उतारचढाव पनि आएका छन् ।

संघले हरेक बर्ष अन्र्तराष्ट्रिय ब्यापार मेला तथा प्रदर्शनी गर्दै आएको छ । जसबाट मनग्य रुपमा आर्थिक लाभ लिएर सो रकमलाई समुदायको पहुँच पुग्न सक्ने गरी खर्च गर्ने गरिएको संघका अध्यक्ष प्रकाश सिवाकोटी बताउँछन् । स्थानीय स्तरमा उत्पादन हुने कृषि, ब्यापार र उद्यमका सामानको प्रदर्शनी हुने अन्र्तराष्ट्रिय मेलाबाट बर्षेनी कराडौँ रुपैयाँ आम्दानी हुने गरेको छ । त्यही रकमबाट संघ लगायतबाट संकलन भएको रकमले आफ्नै ठुलो भवन बनाएको छ भने त्यहाँ अतिथिको लागि भनेर छुट्टै सुविधासम्पन्न  अतिथि गृह पनि बनाएको छ ।  जसमा १ हजार मानिस अट्न सक्ने सुविधा सम्पन्न हल छ भने अट्याचसहितका १६ वटा कोठा रहेका छन् । ‘यसले उद्योग वाणिज्यस संघलाई निकै फाइदा दिएको छ । मेला गर्दा या अरु समयमा आउने देश विदेशका पाहुनालाई खान बस्नको लागि बाहिर जानु पर्ने अवस्था छैन । पाहुनाले चाहे त्यहीँ बस्न सक्छन्’, अध्यक्ष प्रकाश सिवाकोटीले भने । उनले आर्थिक रुपमा संघ कमजोर नभएको भन्दै ५० करोडको भ्यालुएसन भएको र ८ जनाले प्रत्यक्ष कर्मचारीको रुपमा रोजगार पाएको बताए ।

संघको नीजि भवनको हलमा ब्यापारी, ब्यवसायीको मात्र पहुँच छैन स्थानीय सर्वसाधारणले पनि विशेष छुटमा बिभिन्न कार्यक्रमहरु गर्न पाउँछन् । सभा हलले समुदायसंग पनि संघलाई जोडेको अध्यक्ष बताउँछन् । आफू नेतृत्वमा आएपछि संस्थागत, नीतिगत र प्रशासनिक सुधार भएको उनले बताए । उनले भने ‘अहिले ब्यवयीबीचमा विवाद र झैझडा हुन छाडेको छ । प्रशासन चुस्त छ । कर तिर्न व्यवसायी आतुर हुन्छन् । भिसीटिएस, कम्युटर विलिङ लगायतमा सबै सचेत छौँ । लेखा पारदर्शी छ ।’

यति मात्र होइन् उद्योग व्यवसायलाई थप प्रोत्साहन गर्नको लागि औद्योगिक करिडोर बनाउने विषयमा पनि संघले पहल गरिरहेको छ । अध्यक्ष सिवाकोटीका अनुसार स्थानीय सरकारसंग पहल गरेर विर्तामोडको वडा नम्बर ७ मा १० विघा जमिन लिजमा लिएर औद्योगिक ग्राम बनाउने कुरा भइरहेको छ । यदि यसो हुन सक्यो भने त्यही ग्राम अर्थात् औद्योगिक करिडोरमा ब्यवस्थित उद्योग व्यवसाय हुने छन् । अहिले संघ पूर्वमा एउटा बलियो नीजि संस्थाको रुपमा विकास हुँदै गएको र यस् कामहरु पालिकासंगको सहकार्यमा हुन सके थप अब्बल संघ बन्ने अध्यक्ष सिवाकोटीको दाबी छ ।

धेरै स्थानमा स्थानीय सरकारले औद्योगिक नीति नबनाइरहेको बखत विर्तामोडमा भने व्यवसायीसंग सरकार सकारात्मक नै छ । ‘मिलेर काम हुन्छ’, अध्यक्ष भन्छन् । औद्योगिक नीति बनाउने सवालमा सरकारका तर्फबाट कुनै कमिकमजोरी रहेको भए सच्याएर अघि बढ्ने प्रतिवद्धता भएको समेत उनले बताए ।


महासंघसंग आंसिक असन्तुष्ट

दैनिक अनलाइनले नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध रहेका देशभरका छातासंस्थाहरुको पीर, समस्या र गुनासा र राम्रा काम सुन्ने क्रममा विर्तामोडमा भने त्यति धेरै समस्या नभएको पाएको छ । संघले गरेका ती महत्वपूर्ण कामबाट संघ बलियो छ भन्ने बुझिन्छ । संघका अध्यक्ष सवाकोटीले महासंघमा खराब मात्र नभएर राम्रो पक्ष पनि धेरै भएको बताए । महासंघले साना र झिना मसिना कुरा नहेर्ने भएकाले नीतिगत र ब्यवावसायिक हितका राष्ट्रिय इस्यूमा काम गरिरहेको उनले बताए ।

उनले भने ‘सानातिना ब्यवसाय र फर्मका स्थानीय समस्या महासंघले हेर्दैन । ती समस्या हरेक संघले आफै समाधान गर्नुपर्दछ । तर उद्योगी, व्यवसायीलाई व्यवसाय गर्ने वातावरण बनाउने विषयमा महासंघले प्रमुख रुपमा काम गर्नुपर्दछ । सानातिना कुरालाई लिएर महासंघका पदाधिकारीप्रति आरोप प्रत्योरोप गर्नु हुँदैन । साथीहरुलाई मेरो आग्रह छ । महासंघ ब्यवसायीका जेन्यून समस्यामा लड्नुपर्दछ । अध्यक्ष सिवाकोटीले काम गर्नेलाई गर्ने वातावरण दिनु पर्ने बताए । यहाँ नगर्ने मान्छेले गर्ने मान्छेको विरोध मान्छेको विरोध गरेको देखिरहेको छु’, उनले भने ।

अध्यक्ष सिवाकोटीले नगरपालिकाले आफूहरुलाई प्रतिस्पर्धी ठान्ने गरेको सुनाए । त्यही प्रतिस्पर्धाको कारण पालिकाले यसपटक आफूहरुको लागि बजेट नछुट्याएको उनको आरोप लगाए । ‘खै किन हो अहिले बाणिज्य संघ र नगरपालिकाबीच प्रतिस्पर्धाजस्तो देखिन्छ । यसपटक बजेट दिएन । संघको भवनमा कम्पाउडिङ सटर बनाउनु पर्ने योजना पेश भएको थियो । किन सम्बोधन गरेन ? पालिका जति उद्योगमैत्री हुनुपर्ने थियो त्यो देखिएन । पालिकाले नेताका झोले फममा अनुदान दिइरहेको छ । वास्तविक किसान र फर्मलाई अनुदान दिँदैन । यसमा सुधार हुनुपर्दछ’, उनले भने । विर्तामोड उद्योग वाणिज्य संघले स्थानीय सरकारसंग मिलेर बेलालामा कर सप्ताह, कर शिक्षा, राजस्व चुहावट नियन्त्रण, खुला सिमाका समस्याको बारेमा छलफल र चेतनामुलक कार्यक्रम गर्ने गरेको उपाध्यक्ष नैनकला भट्टराईले बताइन् ।

 

चुनौति

महासचिव अर्जुन कुमार मैनालीले फोहर मैला उठाउन स्थानीय सरकार नसक्नु, औद्योगिक करिडोर करिडोर बनाउन पहल गर्नु, विजुली अनियमित आपूर्ति, खुला सिमानाका चोरी पैठारी, बैङ्कको चर्को ब्याज व्यवसायीलाई मुख्य चुनौतिको रुपमा देखिएको बताए । यसको लागि स्थानीय, प्रदेश र संघले नै पहल गर्नुपर्ने उनको भनाई छ । यसको साथै नेपालमा उत्पादन हुँदा भारतले पनि सोही वस्तु र सामाग्री उत्पादन गरेर सस्तोमा बेच्दा उत्पादित वस्तु पनि विक्रिी हुन नपाएको, बेचे पनि मुल्य नपर्ने लगायतका समस्याले व्यवसायी पिल्सिएको महासचिव मैनालीले बताए ।  यिनै विषयमा महासंघले खरो भएर काम गर्नु पर्ने बताए । माछामा आत्मनिर्भर विर्तामोडका माछा नै भारतीय बजारको कारण विक्रिी हुन नसक्ने समस्या पनि आफूहरुले खेपेको उनले बताए ।

सम्भावना

विर्तामोड कृषि, उद्योग, पर्यटन आदिमा निकै सम्भावना रहेको ठाउँ हो । त्यहाँ भ्रदपुर एयरपोर्ट (बंगलादेशसम्म पहुँच राख्ने) छ भने पहाडी भेडको अन्र्तराष्ट्रिय बजार पनि त्यहीँ छ । कृषिका रुपमा अलैँची, अम्रिसो, चिया,माछामासु, गुर्जो, अदुवा, आलु, सुन्तला, उँखु, केरा, सुपारी लगायतका उद्यम रहेका छन् । नीजि क्षेत्र र राज्यले यस कुरामा ध्यान दिने हो भने नेपालकै लागि यो आयआर्जनमा प्रमुख श्रोत हुने त्यहाँका ब्यवसायी बताउँछन् ।

त्यसैले उनीहरुले ब्यवसायीले ब्यवसा गर्ने वातावरण राज्यले बनाइदिनु पर्ने, नीजि क्षेत्रलाई सम्मान गर्नुपर्ने, राज्यले दिने सुविधा, विजुली सहज रुपमा उपलब्ध गराउनु पर्ने, ब्यकको ब्याज र कर छुटदिनु पर्ने, खानेपानी, सडक र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् । महासंघको नेतृत्वमा जो आए पनि यी समस्यालाई हेर्नुपर्ने विर्तामोडका व्यवसायी बताउँछन् ।

महासंघको मूल नेतृत्वसंगका मागहरु

महासंघमा चुनाव हुँदा जुन मुद्धा लिएर नेताहरुले चुनाव जित्छन् त्यसरी काम हुने हो भने कुनै व्यवसायीका गुनासा नआउनेतर्फ त्यहाँका व्यवसायीले मुल नेतृत्वलाई सचते गराएका छन् । मुलुकभर व्यवसायिक वातावरण नभएको, कराडौँ, अरबौँ लगानी गरेका देशभरका उद्योगी वयवसायी टाँट पल्टने अवस्था आएको, बैङ्ककको चर्को ब्याजदरले व्यवसायीको ढाड सेकिएको, नीजि क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण उदार हुनुपर्ने, स्वदेशी उद्योगको लागि कच्चा पदार्थको आयातमा बढाईको भन्सार शुल्क घटाइनुपर्ने, वैदेशिक लगानी गर्ने वातावरण नरहेको, उद्योगी, व्यवसायीपूर्ण नीति राज्यले बनाउन नसकेको हुनाले अब महासंघको चुनावमा यी मुद्धा लिएर जाने विर्तामोडका अधिकांस व्यवसायीले बताएका छन् । आगामी चैत्रमा हुने महासंघको चुनावमा उठ्ने उम्मेदवारले पनि यिनै मुद्धा लिएर व्यवसायमा जानु पर्ने उनीहरुको भनाई छ ।

(हामी नीजि क्षेत्रलाई प्रोत्साहन गर्दछौँ। यो समिक्षा श्रृङखला देशभरका उद्योण वाणिज्य संघसंग पुग्ने छ। तपाईका पनि व्यवसायसम्वद्ध केही सुझाव, सल्लाह र गुनासाहरु भएमा हामीलाई जानकारी गराउनु होला।)

यो पनि पढ्नुहोस्

‘महासंघ उद्योगीको मात्र भयो, साना व्यवसायीको हुन सकेन’

साना उद्योगी व्यवसायीको समस्यालाई महासंघले नसुनेकै हो त ?


प्रतिक्रिया दिनुहोस्