‘बालअधिकार नीति भन्दा व्यवहारमा हुनुपर्छ’

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ०८


काठमाडौं । बालअधिकारका नाममा औपचारिक रूपमा खडा गरिएका संरचनाहरूले काम गर्न नसकेकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । बालसहभागिताका लागि नागरिक सहभागिता र संलग्नता विषयक अन्तरसंवादका सहभागीहरूले बालअधिकार समुन्नत भविष्यको सुनिश्चतताका लागि व्यवहारिक रूपमै सुधार हुनु आवश्यक रहेको बताएका हुन् ।

बालसहभागिताका कार्यरत संस्थाहरूको साझा समुह कन्सोर्टियम नेपालको २३ औं साधारणसभाको अवसर पारी ‘बाल मैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ राजधानीमा भएको उक्त राष्ट्रिय अन्तरसम्वादमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले बालमैत्री समाज निर्माण भए मात्रै सभ्य र सम्पन्न भविष्यको परिकल्पना गर्न सकिने बताएका छन् । साधारणसभाको उद्घाटन सत्रका प्रमुख अतिथि समेत रहेका अध्यक्ष मगरले आफ्नो विचार राख्दै भने, ‘अहिले समाज र परिवारले बालबालिकाको सहभागिता र सुरक्षालाई निकै महत्व दिनुपर्छ । बालबालिकाको शारीरिक मानसिक विकासका लागि अनुकूल वातावरण सृजना गर्न सक्नुपर्छ । यति गरे मात्रै सुरक्षित र सम्मुन्नत भविष्यको सुनिश्चितता गर्न सकिन्छ ।’

कार्यक्रममा बालबालिकाको क्षेत्रमा लामो समय काम गरेर राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशन भैसकेका मिलन धरेलले बालसहभागिताबारे एक प्रस्तुति राखेका थिए । धरेलको प्रस्तुतिले सभ्य समाजको सुनिश्चितता र सम्मुन्नत भविष्य निर्माणका लागि सुरक्षित बालसहभागिता अत्यावश्यक भैसकेको बताए । उनको प्रस्तुतिमाथी टिप्पणी गर्दै सहभागी बालबालिकाले बालबालिकाको क्षेत्रमा बनेका नीतिहरू व्यवहारिक नभएको बताएका थिए ।

पर्याप्त नीतिहरू पनि छन् । तर, अहिलेको बालबालिका मानसिक र शारिरीक दुवै तरिकाले सुरक्षिचत हुन नसकेकोमा बालअधिकारकर्मी धरेलले चिन्ता व्यक्त गरे । नीति र संरचनात्मक हिसाबले अहिलेको बालबालिका लागि प्रयाप्त ठाउँ भए पनि व्यवहारिक नभएको बताउँदै उनले भने, ‘हामी बच्चा हुँदा यस्ता संरचनाहरू थिएनन् । सिमित अधिकारहरू थिए । तर, हामी सुरक्षित थियौंं । तर, अहिले प्रयाप्त चिज छन् । तर, बालबालिकाहरू सुरक्षित छैनन् । अहिलेका बालबालिका मानसिक रूपमा दबाबमा छन्, शारिरीका रूपमा पनि सुरक्षित छैनन् । त्यसमाथि सामाजिक सञ्जालका कारण गलत भ्रामक सूचनाको सिकार पनि भइरहेका छन् । यसले हाम्रो भविष्य फेरि द्वन्द्वतर्फ उन्मुख त भइरहेको छैन ? शंका गर्ने बेला भएको छ ।’

राष्ट्रि बाल दिवस २०७९ को सन्दर्भ पारी आयोजना गरिएको उक्त कार्यक्रममा कन्सोर्टियम नेपालको बालसल्लाहकार समितिकी बालिका प्रतिनिधि मुना गिरीले बालबालिकाको अधिकार प्रत्याभु गराउन हरेर घर परिवार र समाज पनि जिम्मेवार रहेको धारणा राखिन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. किरण रुपाखेती, गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई, राष्ट्रिय बालअधिकार परिषद्बाट इन्दिरा योञ्जना, कन्सोर्टियम नेपालकी सल्लाहकार सदस्य नुपुर भट्टाचार्य, डा. विजय सैंजु, डा. कृष्ण सुवेदी लगायतका व्यक्तिहरूको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दंगालले गरेका थिए भने कार्यक्रमको समापन संस्थाका कार्यकारी महासचिव प्रदिप लामिछानेले गरेका थिए ।

कार्यक्रममा ५९ जिल्लाका ८९ वटा सदस्य संस्थाहरू सहभागी थिए । उक्त कार्यक्रममा तिलोत्तम पौडेलले राष्ट्रिय बालसहभागिता सम्मान पाएका थिए भने संयोजक र उपसंयोजक गरी दुइ जनालाई उत्कृष्ट प्रदेश सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्