हावामा उडेर पानीमा पनि पौडिनसक्ने सुपरसोनिक क्षेप्यास्त्र बनाउँदै चिनियाँ वैज्ञानिक!

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ४८


काठमाडौं। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विश्वका शक्ति राष्ट्रबीच शक्तिशाली हतियार बनाउने होडबाजी चलेको छ।

अमेरिका, चीन, रुस र उत्तर कोरिया त्यस्ता राष्ट्रहरु हुन् जसले ध्वनीको गतिभन्दा तिव्र हाइपरसोनिक र सुपरसोनिक क्षेप्यास्त्र बनाएको समाचारहरु आइरहन्छन्।

यतिबेला चिनियाँ वैज्ञानिकले पानीमा पौडनसक्ने र हावामा उड्नसक्ने सुपरसोनिक क्षेप्यास्त्रको विकास गरिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

खबरअनुसार चिनियाँ अनुसन्धानकर्ताले ५ मिटर लामो क्षेप्यास्त्र तयार गरिरहेका छन् जुन ध्वनीको गतिभन्दा साढे २ गुणा तिव्र छ।

यो क्षेप्यास्त्र १० हजार मिटर आकाशमाथि २ सय किलोमिटरसम्म उड्नसक्छ र पुनः पानी भित्र २० किलोमिटर तैरिएर लक्षित दुरीमा मारहान्न सक्षम हुने बताइएको छ।

यो क्षेप्यास्त्र पनडुब्बी र सैन्य पानीजहाजलाई आक्रमण गर्न तयार गरिएको हो। यो लक्ष्यको १० किलोमिटर नजिक पुगेपछि पानीमुनी प्रतिसेकेन्ड सयमिटरसम्म तिव्र गतिमा चल्छ।

यस्तै क्षेप्यास्त्र विफल पार्ने एन्टीमिसाइल प्रयोग भएको खण्डमा यसले गतिलाई व्यवस्थापन गरेरै त्यसलाई छल्न तलमाथि गर्ने क्षमता पनि यो चिनियाँ क्षेप्यास्त्रमा हुने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्