मोरङका उद्योगीले भने ‘स्याबास् गोल्छा, हाम्रो समस्या र मागमा बोल्यौ’

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : २९


काठमाण्डौँ । उद्योगी, व्यवसायीको पक्षमा गरिएको आन्दोलनमा ऐक्यवद्धता जनाएकोप्रति उद्योग संगठन मोरङले उद्योग वाणिज्य महासंघलाई धन्यबाद दिएको छ । सरकारले आर्थिक बर्ष २०७९ । ८० को बजेटबाट स्वदेशी उद्योगी–ब्यवसायीको ढाड सेक्ने गरी विभिन्न वस्तुको कच्चा पदार्थ आयातमा भन्सार दर बढाएको थियो । त्यसपछि चरम मारमा परेका मोरङका उद्योगी चरणवद्ध आन्दोलनमा उत्रिएका थिए ।

सरकारविरुद्धको आफूहरुको निरन्तरको आन्दोलनपछि नेपाल उद्योग वाणिज्य महासंघले समस्या समाधानमा ऐक्यवद्धता जनाएको थियो । मोरङका उद्योगीका समस्या समाधानमा संवेदनशिल भएर चासो दिएको, सरकारसंग छलफल वहस र पैरवी गर्न वातावरण सिर्जना गरेको भन्दै महासंघका अध्यक्ष शेखर गोल्छालाई पत्रमार्फत् धन्यबाद दिएको संगठनका अध्यक्ष प्रदीप मुरारकाले दैनिक अनलाइनलाई बताए ।

अध्यक्ष शेखर गोल्छा लगायतले कच्चा पदार्थको आयातको भन्सार दरमा गरिएको मुल्य वृद्धि घटाउन सरकारसंग पहल गरिने प्रतिवद्धता जनाएको, निरन्तर आफूहरुको मागमा केन्द्रित रहेर सम्बन्धित निकायसंग सार्थक छलफल गरेको भन्दै उनले महासंघलाई धन्यवाद दिएका हुन् । महासंघको यस पहलले मारङका उद्योगी खुसी भएको समेत उनले बताए ।

मुलुकभर आर्थिक रुपमा चौपट परेका स्वदेशी व्यवसायीमाथि राज्यले सौतनी व्यावहार गरेको भन्दै आर्थिक ऐन तुरुन्त सच्याउन मोरङ उद्योग संगठनले आग्रह गरेको छ । अरबौँ लगानी भई कोरोनापछि बल्लबल्ल उठ्न लागेका उद्योगीलाई निरास बनाउने गरी काम नगर्न पनि नेपाल सरकार अर्थ मन्त्रालयलाई उनीहरुले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्