गायिका आस्था राउतलाई झिकाएर प्रहरीले अनुसन्धान गर्ने

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ३ : १२


काठमाडाैं । गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको बताइएकाे छ । महानगरीय प्रहरी कार्यालयले राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हाे।

गायिका राउतलाई आइतबार प्रहरीले झिकाएर अनुसन्धान गर्ने तयारी गरेको बताइएकाे छ । राउतमाथि प्रहरी जवान सुनिता श्रेष्ठले दिएकाे उजुरीको व्यहोरा र सीसीटीभी फुटेजका आधारमा महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको थियो।

अभद्र व्यवहार गर्न नहुने संहिताको ११८ दफामा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन।  त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’


प्रतिक्रिया दिनुहोस्