नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तक्रिया कार्यक्रम

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ११ : ००


काठमाडाैं । नेपालमा लगानी गर्न आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न कार्यक्रममार्फत आग्रह गरिएको ग्लोबल आइएमई बैंकले बताएको छ ।

ग्लोबल आइएमई बैंकले सिओलमा शाखा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको छ । नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न पनि दक्षिण कोरियामा रहेका नेपालीहरूलाई उक्त बैंकले आग्रह गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष बैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताएका छन् ।

अर्थमन्त्री शर्माले कोरियामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गरेका छन् ।

द्रूत आर्थिक विकास र सम्मृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको शर्माले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरेका छन् ।

‘म यहाँका गैरआवासीय नेपालीसाथीहरू तथा गैरआवासीय नेपाली संघलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, तपाई हामी हातेमालो गरेर अगाडि बढाँै । तपाई हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको सम्मृद्धि सम्भव छ’, ढकालले भने ।

आइएमई समूहले गैरआवासीय नेपालीहरुसँगको सहकार्यमा लमजुङमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना निर्माणसम्पन्न गरेको बताउँदै ढकालले पर्यटन, केबलकार, होटल, जलविद्युतलगायत अरू धेरै परियोजनाहरू पाइपलाइनमा रहेको र त्यसमा गैरआवासीय नेपालीहरुले सहकार्य गर्न सक्ने उनले बताए ।

‘दक्षिण कोरियामा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सैद्धान्तिक स्वीकृति लिइसकेका छौं । स्थानीय कानूनी परामर्शदाताको माध्यमबाट दक्षिण कोरियाको नियामक निकायमा बैंकको शाखा स्थापनाका लागि औपचारिकरुपमा अनुरोध गरेका छौँ’, ढकालले भने ।


प्रतिक्रिया दिनुहोस्