सिन्धुपाल्चोकमा लोप हुँदैछ सांस्कृतिक भेषभूषा बख्खु

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ६ : ५१


सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको उच्च पहाडी भेगका तामाङ र शेर्पाको सांस्कृतिक वेषभूषाका रुपमा चिनिने बख्खु पछिल्लो समय लोप हुँदै गएको छ।

पाँचपोखरी, हेलम्बु, जुगल र भोटेकोसी गाउँपालिकामा मात्र पाइने बख्खु अहिले यहाँ देख्न मुस्किल छ।

यी भेगमा पाइने बख्खु कुनैबेला देशभर प्रसिद्ध थियो। काठको सानो भाटाले भेडाको भुत्लालाई धागो बनाई बुनिने बख्खुको स्थान अहिले ज्याकेट, कोट, सुइटरजस्ता आधुनिक कपडाले लिइसकेको छ।

पहिलापहिला तामाङ र शेर्पा समुदायले हिउँद र वर्षामा बख्खु लगाउने गर्दथे। पाँचपोखरी गाउँपालिकाको गुन्सा र भोताङ, जुगल गाउँपालिकाको गुम्बा र गोल्चेमा केही बुढापाकाले संस्कृति जोगाउनकै लागि भए पनि बख्खु लगाउने गरेका छन्।

बख्खु बुन्ने कार्य परम्परागत र झन्झटिलो भएकाले यसप्रति आकर्षण घटेको छ। समयअनुसार हिफाजत गरेर लगाएमा बख्खु धेरै समय टिक्ने गुन्साका विर्खे गोले बताउनुहुन्छ। कुनैबेला जिल्लाका हिमाली क्षेत्रमा बख्खुकै लागि ४०÷५० भेडा पालेर चैत र असोजमा भुत्ला काटेर त्यसको मसिना डोरी बनाएर बख्खु बुनिन्थ्यो।

भुत्लाको रङ हेरी सात रङमा बख्खु पाइने गरेको उल्लेख गर्दै उहाँले त्यसको रङका आधारमा बख्खु पनि महँगो हुने गरेको भोताङका सिंहबहादुर तामाङ बताउनुहुन्छ। “एउटा बख्खु २४सै घण्टा लगाए पनि १२ वर्ष टिक्छ”, उहाँ भन्नुहुन्छ।

जाडो र गर्मी दुवै समयमा लगाइने बख्खुले झरी पनि थाम्ने गरेको स्थानीय फुर्वा लामाको भनाइ छ। परिवर्तनका नाममा आएका जालीदार कपडाले ठाउँ ओगटे पनि सिन्धुपाल्चोकका अधिकांश हिमाली क्षेत्रमा बख्खु लगाउनेको सङ्ख्या अत्यधिक छ।


प्रतिक्रिया दिनुहोस्