टेलिभिजन लाइभमा प्रेमिकाको हत्या गरेको भनेपछि…

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ११ : ३९


‘हाम्रो बिहेको कुरा चलिरहेको थियो। तर उसको परिवारले कुनै न कुनै समस्या सिर्जना गरिरहन्थ्यो। उनीहरूले तिनीजस्तै म सरकारी जागिरे नभएको भन्थे। त्यसैले मैले तिनलाई सिध्याइदिएँ।’

भारतको चन्डीगढबाट प्रसारित हुने एउटा टेलिभिजनको प्रत्यक्ष प्रसारणको कार्यक्रममा २७ वर्षीय मनिन्दर सिंहले यिनै शब्दमार्फत्‌ अपराध स्वीकार गरे।

प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रममा मङ्गलबार मनिन्दरले बताए अनुसार सन् २०१९ को डिसेम्बर ३० तारिखमा उनले आफ्नी प्रेमिका सरबजीत कौरको हत्या गरेका थिए।

बीबीसीका अनुसार टेलिभिजन कार्यक्रममार्फत्‌ अपराध स्वीकार गरेको केही समयपछि उनलाई प्रहरीले टेलिभिजन कार्यालयबाटै पक्राउ गर्‍यो।

चन्डीगढको औद्योगिक क्षेत्रमा पर्ने एउटा होटलमा धारिलो हतियारको प्रयोग गरी मनिन्दरले आफ्नी प्रेमिकाको हत्या गरेका थिए। प्रेमिकालाई हत्या गरेपछि फरार रहेका उनले टेलिभिजन शोमा हत्या गरेको बताए । 

यो घटनाभन्दा अघिको एउटा हत्यासम्बन्धी मुद्दामा मनिन्दर जमानतमा रिहा भएका थिए।

प्रहरीका अनुसार सन् २०१० मा पनि उनले हरियाणामा अर्की प्रेमिकाको हत्या गरेका थिए।

टेलिभिजनका एक वरिष्ठ कर्मचारीका अनुसार प्रहरी चौकीदेखि करिब तीन किलोमिटर टाढा रहेको स्टेशनसम्म मनिन्दर आफै आइपुगेका थिए।

टेलिभिजन कार्यालयअघि उभिएका एक क्यामेरापर्सनलाई मनिन्दरले आफूले एक महिलाको हत्या गरेको र पंजाबमा रहेको आफ्ना परिवारका सदस्यलाई प्रहरीले दुःख दिने गरेकाले आफूले आत्मसमर्पण गर्न चाहेको बताएका थिए ।

मनिन्दरको कुरा सुनेपछि ती क्यामेरापर्सनले सो टेलिभिजनका लागि अपराध मामिला हेर्ने संवाददातालाई बोलाए। अन्य कर्मचारीबीच छलफल भएपछि उनलाई स्टुडियोभित्र लगियो।

बीबीसीका अनुसार त्यही समयमा टेलिभिजन कार्यालयबाट प्रहरीलाई फोन पनि गरेर कर्मचारीहरुले नै प्रहरीले जानकारी दिएका थिए ।

प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा मनिन्दरले आफ्नो अपराध स्वीकार गर्नासाथ स्थानीय प्रहरीले उनलाई गिरफ्तार गर्‍यो।

प्रहरीका अनुसार मनिन्दर केही महिनाअघि सम्म एउटा स्थानीय फर्ममा चालकका रूपमा कार्यरत थिए। उनकी प्रेमिका नर्स थिइन् र उनी चन्डीगढमै जागिरे थिइन्।

प्रहरी अधिकारी नेहा यादवका अनुसार हत्या गरिएकी सरबजीतको घाँटीको घाउ हेर्दा मनिन्दर खुंखार अपराधी लाग्छन् । 

यादव भन्छिन्, ‘प्रचार हुने र मानिसहरूको सहानुभूति पाउने उद्देश्यले पनि टेलिभिजन लाइभ शोमा जाने भनेर उसले निधो गरेको हुन सक्छ ।’

टेलिभिजन कार्यक्रममा हत्याबारे मनिन्दरले गरेको स्वीकारोक्तिलाई अदालतमा प्रमाणको रूपमा पेश गरिने प्रहरीले जनाएको छ।

होटलको सीसीटीभी फूटेजमा देखिए अनुसार मनिन्दर र उनकी प्रेमिकाले गत डिसेम्बर ३० तारिखका कोठा लिएका थिए। त्यही साँझ मनिन्दर होटलको कोठाबाट निस्केर गए।

भोलिपल्ट होटलका कर्मचारीहरू कोठाभित्र छिर्दा सरबजीतको शव फेला परेको थियो । 


प्रतिक्रिया दिनुहोस्