नेपालले समयमै निर्णय नगरे अग्निपथको कोटा अरुलाई दिन्छौं: भारतीय सेनापति

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : ४१


काठमाडौं । भारतीय सेनाले अग्निपथ योजनाबारे नेपालले समयमै निर्णय नगरे भारत फिर्ता लिन बाध्य हुने जनाएको छ।

भारतका सेना प्रमुख जनरल मनोज पाण्डेले अग्निपथ योजनाबारे नेपालले समयमै जवाफ नदिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा अन्य भारतीयलाई दिइने बताएका हुन।

बुधबार एक कार्यक्रममा बोल्दै पाण्डेले भने, ‘काठमाडौंले तोकिए बमोजिम भर्ना अभियानमा सहभागी नभए नेपाली गोर्खाका लागि छुट्याइएको रिक्त पदलाई तत्कालका लागि अरूलाई वितरण गर्नुपर्ने हुन्छ’।

अग्निपथबारे स्पष्टता नभएको भन्दै नेपालले यसपालि भारतीय सेनामा हुने भर्तीको छनोट प्रक्रिया नै रोकेको छ।

गत असार पहिलो साता भारतले तीन सैनिक सेवा (स्थल, जल र वायु) मा नयाँ भर्नाका लागि अग्निपथ नामको नयाँ स्किम ल्याएको थियो। साढे १७ वर्षदेखि २३ वर्षसम्मका युवा अग्निपथ योजनाअनुसार भर्ती हुन पाउँछन्।

भारतले यो योजना अन्तर्गत ४० हजार नेपाली अग्निवीरका रुपमा भर्ना गर्न लागेको बताएको थियो।

यो योजनाअनुसार भर्ती हुनेहरूले ४ वर्षमात्र सेवा गर्न पाउनेछन्। त्यसपछि थोरैलाई मात्रै पूर्णकालीन सैनिकका रूपमा काम दिइनेछ भने बाँकीलाई घर पठाइनेछ। उनीहरूले पेन्सनको सुविधा पाउने छैनन्।

नेपालले आफ्ना युवाहरूलाई पनि त्यही ४ वर्षका लागि भारतीय सेनामा भर्ती गराउन लागेको हो कि पेन्सन पाउने गरी भन्ने स्पष्ट नभएकाले पहिला त्यो स्पष्ट हुनु पर्ने बताएको हो।

अग्निपथ योजनाबारे भारतीय सेनामा भर्तीका लागि निर्वाचनअघि कुनै निर्णय नगर्ने नहुने परराष्ट मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्