सर्तमा अतहरले बलदेवलाई सघाउने, उपाध्याय भन्छन्- ‘दुर्घटना हुन सक्छ!’

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : ०९


चन्द्रकान्त न्यौपाने

काठमाण्डौँ। आगामी मंसिर ४ गतेको निर्वाचनलाई लिएर सत्ता गठबन्धनले सिट बाँडफाँटको कसरतलाई अत्तिम चरणमा पुर्याएको छ। गठबन्धनले १ सय ६५ मध्ये करिब सय सिटमा सहमति जनाउँदा कपिलवस्तुको क्षेत्र नम्बर-१ भने माओवादीले पाउने पक्का भएको छ। जिल्लाका ३ निर्वाचन क्षेत्रमध्ये २ र ३ भने काँग्रेसको भागमा परेको छ। यसो हुँदा नेकपा (माओवादी केन्द्र)का सचिव चक्रपाणी खनाल ‘बलदेव’ १ मा चुनाव लड्ने छन्। त्यहाँबाट बलदेवको नाम सिफारिस भइसकेको छ। अरु दुई जनाको नाम सिफारिस भए मओवादीले बलदेवलाई टिकट दिने पक्का छ।

बलदेव वि.सं २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यस्तो स्थितिमा सोही निर्वाचन क्षेत्रबाट उठ्ने भनिएका नेपाली काँग्रेसका दुई प्रभावशाली नेता दीप कुमार उपाध्याय र अतहर कमाल मुसलमानले नि:सन्देह बलदेवले सघाउलान् या गठबन्धनको निर्णय विपरित जालान् चौतर्फी जिज्ञासा छ।

बलदेवले टिकट पाउने निश्चित भए तापनि त्यो क्षेत्रमा मओवादी कमजोर छ। ७४ मा जित्दा बलदेवले एमालेको साथ लिएर मात्र चुनाव जितेका हुन्। बलदेवले चुनाव जितेर कृषि मन्त्री भएतापनि उनले खासै उल्लेख्य काम गर्न नसकेपछि सबैबाट उनी अहिले आलोचित छन्। त्यसकारण पनि मतदाताहरु माओवादीप्रति सन्तुष्ट नभएका स्थानीय बताउँछन्। स्थानीय नेता, बुद्धिजिवीका अनुसार क्षेत्र नम्बर-१ मा माओवादीको धरातल निकै कमजोर छ।

त्यसकारण यसपटक बलदेवलाई समानुपातिक या राष्ट्रिय सभामा व्यवस्थापन गरेर गठबन्धनबाट काँग्रेसले टिकट पाउँछ कि भन्नेमा स्थानीय काँग्रेस नेता र कार्यकर्ता आशावादी थिए तर अन्तिममा त्यो हुने नदेखिएपछि यतिबेला काँग्रेसका नेता कार्यकर्ता आक्रोशित र निरास रहेको नेताहरु बताउँछन्। यता चुनाव उठ्ने तयारीसमेत थालेका नेताहरु दीप कुमार उपाध्याय र सांसद अतहर कमाल मुसलमानले पनि गठबन्धनको निर्णयले क्षति हुने अुनमान गर्दछन्।

दीप कुमारको धम्कीः दुर्घटना हुन्छ

पूर्वमन्त्री र राजदूतसमेत भइसकेका दीप कुमार उपाध्यायले गठबन्धनको निर्णय काँग्रेस कपिलवस्तुको लागि हानिकारक हुने आंकलन गर्दछन्। स्थानीय नेता कार्यकर्ताको मनोभावना विपरित गरिएको निर्णयले दुर्घटना हुन सक्ने भन्दै सचेत रहन शीर्ष नेतृत्वलाई उनको आग्रह छ। विहिबार दैनिक अनलाइनसंग कुराकानी गर्दै उपाध्यायले भने ‘साइलेन्ट मतदातामाथि काँग्रेसले घात गरिरहेको छ’। उनले भने, ‘म अहिले पनि जिल्लामा छु। मेरो क्षेत्र गठबन्धनबाट माओवादीको भागमा पर्ने निश्चितजस्तै छ । तर यस निर्णयले धेरै काँग्रेस नेता कार्यकर्ताको मन दुखेको छ  यसले ठिक नतिजा दिने देख्दिनँ । दुर्घटना हुन सक्छ।’

नेताको हातमा मत नरहेको र जनताको हातमा मत रहेकाले यस्तो अवस्थामा आफूले पनि केही गर्न सक्ने अवस्था नहुने उनले बताए। ‘माओवादीको भोट छैन। यस अघि पनि एमालेको साथ लिएर बल्लबल्ल जितेको हो। माओवादीको धरातल छैन। मैले हुन्छ, अँ भने पनि मतदाताले त्यो मान्ने देखिँदैन। मैले गठबन्धनको निर्णय शिरोपर गरे पनि कार्यकर्ताले के गर्छन् भन्न सकिँदैन। कार्यकर्ताको मनस्थिति नबुझी गरिएको निर्णयले उल्टो परिणाम आउन सक्छ ।’

तपाईले गठबन्धनको निर्णय मान्नुहुन्छ कि बागी उम्मेदवारी दिनुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने ‘मजत्तिको नेताले पार्टीको निर्णय नमान्ने कुरा भएन। तर, जनता हिजोको अवस्थामा छैनन्। मत खसाल्ने जनताले हो । मैले भनेर पनि जनता कन्भिन्स हुने स्थिति छैन। बागीको कुरा छ। मैले बागी उम्मेदवारी दिन्नँ। पार्टीको अनुशाषन र कर्तब्यमा हामी बाँधिएका हुन्छौँ। यसो गर्ने कुरा हुँदैन । तर पार्टीको यही निर्णयले देशभर दुर्घटना हुन सक्छ।’ बलदेवले टिकट पाउँदा २०२५ साल देखि निरन्तर चुनाव लडेका उपाध्यायको लामो सांसद यात्रामा पूर्णविराम लाग्ने छ।

के भन्छन् अतहर?

सोही क्षेत्रमा चुनाव उठ्ने चर्चामा रहको सांसद अतहर कमाल मुसलमानले शर्तमा बलदेवलाई सघाउने बताए। काँग्रेस राजनीतिमा लामो समय व्यतित गरेको हुनाले त्यसै सबै कुरा नछोड्ने उनले बताए।

उनले दैनिक अनलाइनसंग भने ‘गठबन्धनको निर्णय मान्नु पनि पर्दछ। यस अघि पनि स्वतन्त्र जितेको थिएँ । अब कति यसो गर्नू ? जीवनभरी विद्रोही भएर भएन । यो मान्छे यस्तो रैछ भन्लान्। तर मेरो व्यवस्थापन पार्टीले गर्नुपर्दछ । त्यो हुँदा मैले बलदेवजिलाई सघाउँछु।’

उनले बुधबार मात्र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’संग भेट भएको भन्दै प्रचण्डले बलदेवलाई सघाउन आग्रह गरेको सुनाए। उनले भने ‘प्रचण्डले मलाई भन्नुभएको छ यसपटक सघाउनुहोस् । यसपटक गठबन्धनले जित्नुपर्दछ । चुनाव जितेपछि सरकार हाम्रो बन्छ। टिकट मात्रै सबै होइन । केही न केही मिलाम्ला । तपाईलाई कहिँन कहिँ व्यवस्थापन गछौँ।’ त्यो भेटमा बर्षमान पुन पनि रहेको उनले सुनाए।

‘आफ्नो पार्टी आफ्नै भयो । प्रचण्डले पनि यसो भनेपछि किन बिद्रोही हुने। यसपटक बलदेवलाई सघाउँछु। तर, नेता कार्यकर्ता बेखुसी हुनेछन्। बलदेवले निकै ठुलो कसरत गर्नुपर्ने देख्छु। किनकि माओवादीको धरातल निकै कमजोर छ। बलदेवले चुनाव जितेर जनताको मन जित्ने काम गर्न नसक्नु भएकै हो।’

अतहरकी श्रीमती देवकला सुवेदीलाई पार्टीले समानुपातिकमा सिफारिस गरेको छ । श्रीमताीको व्यवस्थापन हुने देखिएपछि तपाईले बलदेवलाई सहर्ष स्विकार्नु भएको हो रे नि ? भन्ने प्रश्नमा उनले भने ‘त्यो होइन। मेडमलाई सांसद बनाएर के फाइदा हुन्छ । उनी सांसद बन्छिन् सकिन्छ। मलाई के फाइदा हुन्छ। राजनीतिमा आफ्नो फाइदा हेर्नुपर्दछ। त्यो विकल्पको रुपमा अगाडी सारेका हुन्। तपाईले भनेजस्तो होइन।’

उनले गठबन्धनमा कसैले हठ गर्न नहुने बताए । ‘कपिलवस्तुको ३ निर्वाचन क्षेत्रमा दुई वटा काँग्रेसले पाएको छ। एउटा माओवादीलाई पनि दिनु पर्यो । उहाँहरुले मागेको क्षेत्र पनि-१ नै हो। उहाँलाई जिताउन सबै लाग्नु पर्ने देख्छु,’ उनले थपे। अतहरसंग त्यस क्षेत्रको मुस्लिम मत रहेको छ। अतहरले नसघाएको खण्डमा बलदेवको सांसद यात्रा सकसपूर्ण छ। यता उपाध्यापले पनि सघाएनन् भने त्यसको फाइदा एमालेले लिने पक्का छ।

सो क्षेत्रबाट एमालेका बलराम अधिकारीले टिकट पाउने निश्चित छ। ‘संविधान सभा सदस्य रहेका अधिकारी बलिया उम्मेदवार भने होइनन्। पार्टीमा उनको पकड भए पनि जनतासमक्ष भने उनी भिजनेवल र गर्ने नेताको रुपमा चिनिँदैनन् । त्यसकारण पनि गठबन्धनमा काँग्रेसले पुर्ण साथ दिएमा फेरि पनि बलदेवले चुनाव जित्ने त्यहाँका जानकार बताउँछन्।’


प्रतिक्रिया दिनुहोस्