रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ५३


काठमाण्डौँ । रसुवाको रसुवागढी नाका खोल्न चीन तयार भएको छ। नेपालसँगको महत्वपूर्ण नाका खोल्न चीन तयार हुने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बताए। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा उनले तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन्।

चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागडी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै तत्कालैदेखि नाका खुल्ने बताएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए।

‘यहाँ आउनुअघि मैले व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेँ, यो सन्देश हाम्रो राष्ट्रपति सि जिनपिङसमक्ष पनि पुगेपछि अब म राष्ट्रपतिज्यूसँग भन्न सक्छु कि नाकाहरु तत्कालै सञ्चालन हुनेछन्’ चिनियाँ नेता ली को भनाई उधृत गर्दै ढकालले भने।

यो सँगै अब सो नाका भोलिदेखि खुल्ने भएको छ। चीनको तिब्बततर्फ कोरोना संक्रमण बढेको भन्दै २५ साउनदेखि चिनियाँपक्षले रसुवागढी नाका बन्द गरेको थियो।


प्रतिक्रिया दिनुहोस्