‘महासंघ उद्योगीको मात्र भयो, साना व्यवसायीको हुन सकेन’

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : २८


चन्द्रकान्त न्यौपाने ।

काठमाण्डौँ। नेपाल उद्योग बाणिज्य महासंघ उद्योगीको भएको तर ब्यापारीको नभएको उद्योग बाणिज्य संघ इनरुवा सुनसरीले आरोप लगाएको छ। देशभरका साना उद्योगी व्यवसायी चरम मार र अन्यायमा परेको गुनासो आएपछि दैनिक अनलाइनले यसबारे सातै प्रदेशमा प्रतिनिधिमुलक ढंगबाट बुझ्ने क्रममा इनरुवाका व्यवसायीले त्यसखाले आरोप लगाएका हुन्। देशभरका उद्योग ब्यवसायको हक, हित र संरक्षणको लागि भनेर केन्द्रमा महासंघ भएपनि ठुला ब्यापारीको कब्जामा रहेको संघका अध्यक्ष वीरेन्द्र कुमार शाहले बताए।

महासंघ ठुला र घराना व्यवसायीका भरणपोषणमा लाग्दा साना ब्यवसायी सदैव मर्कामा परेका शाहले आरोप लगाएका छन्। महासंघको मूल र जिल्ला–नगरको नेतृत्व ठुला र घराना ब्यवसायीको पंजामा पर्दा आफ्ना दुख, पीर र समस्या बोल्ने आज कोही नभएको शाहले बताए। वि सं २०५२ सालमा स्थापना भएर अहिले छैठौँ नेतृत्वसम्म आइपुग्दा संघमा लगभग ३ हजार उद्योग, ब्यापार, ब्यवसाय र फर्म दर्ता छन् तर ती सबै ब्यवसायीका मुद्धा, समस्या र समाधानमा महासंघको कुनै नेतृत्वले चासो नदिएको शाहले बताए।

उद्योगीको लागि भयो, ब्यवसायीको हकहितमा भएन

उनले भने ‘उद्योगी, ब्यापारी, ब्यवसायीको महासंघ हुनुपर्ने, उद्योगीको लागि भयो, ब्यवसायीको हकहितमा भएन। महासंघको सदस्य भएपछि साधारण ब्यापारीको पनि दुख पिर सुन्नुपर्नेमा घराना र ठुलाठुला उद्योगीको मात्र महासंघ भएको छ। यो देशभरको ब्यवसायीको समस्या हो।’

संघमा आवद्ध अरु व्यवसायी पनि महासंघका कामकारबाहीबाट आफूहरु सन्तुष्ट नभएको बताए। संघमा आवद्ध भएका सदस्यका समस्या, गुनासा सुन्छौँ भनेर केन्द्रमा जिल्ला–नगर बनाइएको भए पनि चुनावपछि ती सबै हराएर जाने गरेको उनीहरुको भनाई छ।

व्यवसायीलाई व्यवसाय गर्ने वातावरण छैन, शान्ति सुरक्षा छैन 

संघका उपाध्यक्ष गिरीराज अटल भन्छन् ‘हामी भारतको खुला सिमानासंग जोडिएका छौँ। यहाँबाट ट्रक र कन्टेनरमा सामान ढुवानी हुन्छ। कन्टेनरको कुरा आयो भने महासंघले कुरा सुन्छ तर यहाँका खुद्रा र साना व्यवसायीले खुला सिमानामा के कस्ता समस्या भोगिरहेका छन् कहिल्यै सुन्दैनन् । यहाँको चोरी पैठारीबाट आफूहरुलाई परेको मारको सम्बन्ध्मा महासंघले न त हामीसंग सल्लाह गर्दछ न त स्थानीय तहसंग समन्वय गरेर यस्ता समस्या हल गर्न पहल गर्दछ। जे जेति गरेका छौँ, आफ्नै पहलबाट गरेका छौँ । बजार भाउ अनियमित भएको, व्यवसायीलाई व्यवसाय गर्ने वातावरण छैन, शान्ति सुरक्षा छैन । भन्सार राजस्व, अनुसन्धानको कुरामा यतिधेरै समस्या छन् ती कसले हेर्ने ? हामी साना व्यसायीका कुरा कसले सुन्छ?’ उपाध्यक्ष अटलले प्रतिप्रश्न गरे।

विधान शंशोधन गरेर अब अध्यक्षको प्रत्यक्ष चुनाव नभएसम्म महासंघमा आमूल परिवर्तन आउँदैन

महासंघले साना ब्यवसायीलाई नहेरेको भन्दै अब विधान शंशोधन गर्नुपर्ने अध्यक्ष शाहले बताए। ‘अध्यक्षमा चुनाव हुँदैन। वरिष्ठ उपाध्यक्ष सोझै अध्यक्ष बन्ने विधान छ । अहिले भएका पदाधिकारीमा पनि एशोसिएटकै ब्यक्ति हावी भएकाले जिल्ला–नगरले भर्खरै नेतृत्व पाउँछ भन्ने लाग्दैन । त्यसैले विधान शंशोधन गरेर अब अध्यक्षको प्रत्यक्ष चुनाव नभएसम्म महासंघमा आमूल परिवर्तन आउँदैन’, उनले भने । उनले थपे ‘महासंघमा अधिकांस उद्योगीहरु हुनुहुन्छ, साना ब्यवसायीहरु त्यहाँको नेतृत्वमा पुग्न सक्ने अवस्था छैन । किनभने सामान्य र कम खर्च गरेर चुनाव जित्ने अवस्था छैन।’

सुनसरी जिल्लाको मध्ययम उद्योग बाणिज्य संघमा इनरुवा पर्ने भएकाले सम्भावनाको विच पनि धेरै कुरामा पछि पर्नु परेको शाहले दुखेसो पोखे । महासंघबाट मात्र होइन इनरुवा उद्योग वाणिज्य संघ स्थानीय तहबाट उपेक्षित रहेको बुझिएको छ ।

स्थानीय तहबाट उपेक्षित

सचिव रोशन खड्काले आफूहरुको कार्यकालको ३ बर्षसम्म स्थानीय तहबाट एक सुका पनि नआएको बताउँदै आक्रोश पोखे। उनले भने ‘हाम्रो कार्यकालमा किन स्थानीय तहले सहयोग गरेन भनेर अध्ययन गर्दा त संघस्थापना भएको बर्ष वि सं २०५८ सालबाट नै एक रुपैयाँ पनि सरकारी तवरबाट नआएको पायौँ । २०७४ सालपछि आएको स्थानीय सरकारले पनि पनि संघलाई एक रुपैयाँ पनि सहयोग गरेको रहेनछ । सचिव खड्काले थपे इनरुवा उद्योग संघमात्र नेपालको यस्थो संस्था हो जसले स्थानीय तहबाट रुप्पे पाएको छैन।’

औद्योगिक ग्राम बनाउने कुरामा पनि स्थानीय तहले कुनै पहल नगरेको, उद्योग मैत्री नीति नबनाएको, कुनै कार्यक्रममा पनि संघसंग समन्वय नगरेकोमा खड्काको दुखेसो छ। महिलाको नाममा ३ बर्षमा कृषि फर्म, घरलु उद्योग खुल्ने क्रम बढेको भए पनि स्थानीय तहबाट पाउने रकमबाट सबै बंचित भएको सचिव खड्काले बताए । ‘नेताका झोले फर्मले अनुदान झ्वाम पार्छन्, वास्तविक किसान र उद्यमीले पाउँदैनन् यस्तो विडम्बना छ’, यहाँ उनले थपे।

इनरुवा उद्योग वाणिज्य संघमा अहिल ठुला उद्योगका रुपमा सिमेन्ट, प्लाई खाद्यान्ह मिलहरु, कृषि फर्महरु र खुद्रा ब्यवसायी रहेका छन् भने कोरोना साम्य भएसंगै नयानयाँँ उद्योग खुल्ने क्रम जारी रहेको संघले बताएको छ।

सम्भावनाले भरिएको इनरुवा 

सुनसरी नेपालकै कृषि प्रधान जिल्ला हो। जिल्लाको इनरुवामा त कृषि र पर्यटनको झनै सम्भावना छ। नेपालको पहिलो तरकारी बजार जो बर्षको ३६५ दिन नै संचालन हुन्छ। विहान ४ बजे खुल्छ र राति ९ बजे बन्द हुन्छ। यहाँबाट नै नेपालको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणमा फलफुल र तरकारी सप्लाई हुन्छ । यसलाई थप ब्यवस्थित गर्न सके त्यहाँको विकासले फड्को मार्ने त्यहाँका व्यवसायी बताउँछन्। पर्यटनमा पनि इनरुवा उत्तिमै सम्भावना बोकेको सहर हो।

कोशी करिडोरदेखि लिएर बराहा क्षेत्र जाने, नेपाल भारत, बाधबाट रामधुनीबाट बराहा क्षेत्र र धरान अनि धरानबाट सुनसरी फर्कने ट्याक पनि त्यहाँ नै पर्दछ। चारकोसे जंगल, कोशिटप्पु वन्यजन्तु आरक्ष संग जोडिएको जोडिएको रामधुनीलाई प्रकृतिको सौन्दर्य चिडियाघर बनाउन सके विश्वभरका पर्यटकको ओइरो लागेर मनग्य अर्थ संकलन गर्न सकिने खड्काले बताए। यसको लागि आफूहरुले पहल गरिरहेको भन्दै अब महासंघ, स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि यसतर्फ धयान दिनु पर्ने उनको भनाई छ।

चुनौती

तर यहाँको विकासको लागि केही चुनौति भने छन्। सानो ठाउँ, आयश्रोत कम भएको संघ, आया आर्जनमा आधारित जनसमुदाय र ब्यवसायी, कृषिमा निर्भर बाटोघाटोको समस्या आदिाके कारण त्यहाँको विकासमा चुनौति खडा भएको छ। कलकारखानालाई पालिकाले सहयोग गर्ने र विकासमा पहल गर्नु, कर र बिभिन्न तिर्नुपर्ने शुल्क छुट गरेर जान सके इनरुवाको मात्र विकास नभएर समग्र देशको विकास हुने महासचिव खड्काको भनाई रहेको छ। महासंघको चुनाव पनि आइरहेको हुनाले अक यिनै समस्या र मागहरु लिएर आफूहरु अगाडी जाने इनरुवा उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीले बताएका छन्।

(हामी नीजि क्षेत्रलाई प्रोत्साहन गर्दछौँ। यो समिक्षा श्रृङखला देशभरका उद्योण वाणिज्य संघसंग पुग्ने छ। तपाईका पनि व्यवसायसम्वद्ध केही सुझाव, सल्लाह र गुनासाहरु भएमा हामीलाई जानकारी गराउनु होला।)

यो पनि पढ्नुहोस्…

साना उद्योगी व्यवसायीको समस्यालाई महासंघले नसुनेकै हो त ?


प्रतिक्रिया दिनुहोस्