जोकर भनेपछि इरानलाई ट्रम्पले दिए चेतावनी

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ५ : ०७


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईलाई 'आफ्ना शब्दप्रति सचेत रहन' चेतावनी दिएका छन्।

तेहरानमा शुक्रवार एउटा सार्वजनिक प्रवचनका क्रममा खामेनेईले संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो।

हजारौँ मानिसलाई सम्बोधन गर्दै खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्पलाई 'जोकर' को सङ्ज्ञा दिए भने इराकस्थित अमेरिकी सैन्य आधारशिविरमाथि इरानले हालै क्षेप्यास्त्र प्रहार गरेकोमा प्रशंसा गरे।

शुक्रवार ट्वीट गर्दै ट्रम्पले 'सर्वोच्च नेता भनिए पनि खामेनेई सर्वोच्च नरहेको' र इरानको अर्थतन्त्र धरमराइरहेको तथा त्यहाँका जनताले दुःख झेल्नु परेको दाबी गरे।

दुई हप्ताअघि अमेरिकाले आक्रमण गरी इरानका वरिष्ठ सैनिक जेनरल कासिम सुलेमानीलाई मारिदिएपछि वाशिङटन र तेहरान बीचको तिक्तता झन् बढेको छ।

इरानका सर्वोच्च नेतालाई ट्रम्पले के लेखे हेर्नुहोस्

 

के भनेका थिए इरानका सर्वेाच्च नेताले ?

राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट शुक्रबार ८ वर्षपछि सार्वजनिक सम्बोधन गरेका खामेनीले इरानका जनतालाई समर्थन गरेजस्तो देखाउने ट्रम्पलाई ‘जोकर’ भनेका  थिए ।

अमेरिकी हवाई हमलामा मारिएका उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अन्तिम संस्कारमा लाखौं सहभागी हुनुले इरानी जनताले इस्लामिक गणतन्त्रको समर्थन गरिरहेको प्रस्ट भएको सम्बोधनका क्रममा खामेनीले बताए।

इस्लामिक स्टेट समूहविरुद्धको लडाइँमा अति प्रभावशाली सैन्य नेतृत्व गरेका सुलेमानीलाई अमेरिकाले जनवरी ३ मा ‘कायरतापूर्वक हत्या गरेको’ उनले आरोप लगाए। उनको हत्याको बदलामा इरानले इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा कैयौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

यद्यपि सो आक्रमणबाट कुनै ठूलो क्षति नभएको वासिङ्टनको दाबी छ। इरानले प्रहार गरेको क्षेप्यास्त्र ‘आफूमात्रै विश्वको शक्ति सम्पन्न राष्ट्र हौं’ भन्ने अमेरिकी इज्जतमा प्रहार भएको उनको भनाइ छ।

शुक्रबारको प्रार्थनापछि सर्वोच्च नेता खामेनीले विरलै गर्ने सम्बोधनमा अमेरिकालाई मध्यपूर्वबाट फिर्ता पठाएपछि मात्रै ‘वास्तविक सजाय’ दिइएको हुने बताए।

 


प्रतिक्रिया दिनुहोस्