दीपक पौडेल ।
नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालको कम्युनिस्ट आन्दोलनमा दिइएको योगदान प्रति सम्मान प्रकट गर्दछौं । मसालको सातौं महाधिवेशनसम्मको यात्रा क्रान्तिकारी नै थियो । माक्र्सवादका आधारभूत मान्यतालाई अंगालेको थियो । आठौं महाधिवेशनले मसाललाई संस्थागत रुपमा एमालेकरण गरेको छ । यतिबेला हामीले कम्युनिस्ट आन्दोलनको पुनः मुल्यांकन गरेर अगाडि बढ्नुको कुनै विकल्प छैन । गद्दार पुस्पलाल , सिआइडी निर्मल लामा, पहिलो संसदीय निर्वाचन बहिस्कार, सरकारमा जानुपर्छ भन्ने एकता केन्द्र पक्षको धारणा र विभाजन, केही बर्षपछि सरकारमा सामेल लगायतका बिषयमा पुनः समीक्षा आवश्यक देखिन्छ । द्वन्द्ववादले शंका गर्न प्रेरित गर्दछ र अन्धाधुन्ध जयजयकार गर्ने कुराको बिरोध गर्दछ ।
एमालेमा कुनै परिवर्तन नआएको अवस्थामा हामी वामपंथी शक्ति मान्न सक्दैनौँ र प्रतिक्रियावादी शक्तिसंग मिलेर सरकारी लाभका पदहरुमा रमाउने कुराको बिरोध गर्नुपर्दछ । एमालेसंग मिलेर देश जोगाउने र कांग्रेससंग मिलेर गणतन्त्र जोगाउने बनावटी कुरा गरेर एकसिटे यात्राको तामझामलाई समर्थन गरेर क्रान्तिकारी आन्दोलनमा गद्दारी गर्न सकिन्न । हामीले जतिसक्यो क्रान्तिकारी आन्दोलनको पक्षमा काम गर्नु पर्दछ ।
यो भनिरहँदा सम्मानित ब्यक्ति सिंहले पार्टी छोडेर वा बस्न नसकेर गएका व्यक्ति र समुहको लिस्ट प्रस्तुत गरेर यिनीहरू पनि कतै जानेछन् भनेर कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । कार्यकर्ता सोही अन्धानुकरण गरेर प्रस्तुत भएको देखिन्छ । बाबुराम, दिननाथ, नबराज, डिलाराम यस्तै यस्तै सबै गए । हामीले रुपमा होइन, सारमा बुझौं उनीहरू कता गए ? मसाल कहाँ छ ? युद्धकालमा माओवादीको भन्डाफोर गरेर नथाक्ने, युद्ध छोडेर शान्ति प्रक्रियामा माओवादी आउँदा चर्को आलोचना गर्ने, एउटा सिट देउ , एउटा मन्त्री बनाउन सहयोग गर भनेर प्रचण्डलाई दसौं पटक पुकार्ने ! दिननाथ, डिलाराम रहेको पार्टीसंग हात थापेर हिड्ने, उनीहरुले लिएको बाटोमा जुनियर यात्री बन्ने अनि ठुला कुरा गेरर सिमित कार्यकर्तालाई भ्रमको अन्धकारमा डुवाउने यो कस्तो राजनीति हो ? हामीले जानेहरूको लिस्टमा सिंहको नाम छुटाउने गल्ती गर्न हुँदैन । नबराज, बाबुराम, दिननाथ, डिलाराम जता गएका छन् सिंहको यात्रा पनि त्यतै गएको छ ।
कतिपय बिषयमा एमाले संग भिम रावलको कुरा मिलेको देखिन्न, र पनि उनी एमाले नै हुन् । मसालको डिलाराम , नवराज, दिननाथ बाबुराम संलग्न पार्टीसंग कतिपय कुरामा असहमत रहेपनि मसालको बाटो उनीहरूले नै रोजेको हो । अबको युगमा बल प्रयोग होइन, चुनावी प्रक्रियाले समाजवाद ल्याउन सकिन्छ भनेर बहुदलीय जनबाद भन्ने एमाले, युद्धबाट थाकेर एक्काइसौं शताब्दीको जनवाद भन्ने माओवादी केन्द्र , देशकाल परिस्थिति अनुसार सशस्त्र संघर्षको सट्टा शान्तिपूर्ण आन्दोलनलाई अपनाउने मसाल, संविधानमा समाजवाद उन्मुख शब्द लेखेको भरमा समाजवादमा पुगीन्छ भन्ने मसालमा कुनै भिन्नता छैन भन्दा न्याय नै हुनेछ ।
अहिले देशमा कथित कम्युनिस्ट पार्टी र प्रतिक्रियावादी पार्टीमा कुनै भिन्नता देखिन्न । राष्ट्रियता, जनजीविकाका सवालमा फरक धारणा देखिन्न । राष्ट्रघात जनघातमा पार्टीहरुले राष्ट्रिय सहमति नै जुटाउने गरेका छन् । मसाल कहिले कथित कम्युनिस्टको कित्तामा, कहिले प्रतिक्रियावादी कित्तामा सामेल भएको छ । एक सिट प्राप्त गर्नुलाई ठुलो उपलब्धि मानेर हिँडेको छ । एक सिटको लागि अहिलेसम्मको इमानदारीतालाई लिलाम बिक्री गरेको छ । एक सिट जित्नु , केही पालिका जित्नु गौरवको बिषय बनाएको छ । दिननाथ , डिलारामहरुको उदाहरण दिँदादिँदै मसाल नेतृत्वले उनीहरूको बाटो ग्रहण गरेको छ । यसरी पलायन भएको मसाल नेतृत्वलाई हार्दिकता पुर्वक राम राम भन्नुको कुनै विकल्प रहेन ।