वन फडानी नरोकिए विप्लव नेकपाले कारवाही गर्ने

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ४ : ०३


कपिलवस्तु । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अबध स्वायत्त प्रदेशले बन क्षेत्रको दोहनविरुद्ध सङ्घर्ष गर्ने बताएको छ ।

शुक्रबार प्रेसविज्ञप्ति जारी गर्दै स्वायत्त प्रदेशअन्तर्गत तराई क्षेत्रमा वैज्ञानिक बन व्यस्थापनका नाममा भूमाफिया, बन विभागका भ्रष्ट कर्मचारी र आईएनजीओ मिलेर बन क्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारबाही गर्ने चेताबनी दिएको हो ।

स्वायत्त प्रदेशका प्रमुख नाथुप्रसाद थारुद्वारा जारी विज्ञप्तिमा वैज्ञानिक बन व्यवस्थापनका नाममा गरिएको बन फडानी तत्काल रोक्न चेताबनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तराईमा सामाजिक दलाल सरकारद्वारा संरक्षित भूमाफिया, काठतस्कर, बन विभागका भ्रष्ट कर्मचारी र आईएनजीओ मिलेर वैज्ञानिक बन व्यवस्थापनका नाममा साललगायतका घनाजङ्गल फडानी गरी हजारौँ हेक्टर बन क्षेत्र सखाप पारिएको छ र ती क्षेत्र उजाड चौरमा परिणत भएका छन् । यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको छ भने अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको छ ।’

सरकारको कथित वैज्ञानिक बन व्यवस्थापन कार्यक्रमबारे कसैलाई पनि भ्रममा नपर्न अपिल गर्दै नेकपाले प्राकृतिक स्रोत र साधनमाथिको लूट र दोहनको अन्त्य वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्