रातामकै भन्छन्ः केपी ओली र राम कुमारी झाँक्रीलाई चलचित्रमा खेलाउन चाहन्छु!

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : २३


काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले फिल्ममा खेलाउन चाहेको कलाकार किरण केसी रातामकैले बताएका छन्।

यसअघि बि.सं. २०७६ सालमा केपी ओलीको अभिनय रहने गरी फिल्म ‘रातो सूर्य’को घोषणा गरिएको थियो। तर, पछि यो फिल्म निर्माण हुन सकेको थिएन।

ओली हाँस्यव्यंग्य कलाकारभन्दा पनि अब्बल भएको टिप्पणीहरु हुने गर्दछ। यस क्रममा केसीले आफूले ओलीलाई फिल्म खेलाउन इच्छुक भएको बताएका हुन्।

केपी ओलीले फिल्ममा काम गर्न राजी भएको खण्डमा आफूले पारिश्रमिक स्वरुप १० लाख ११ हजार दिने पनि उनले बताएका छन्।

हालै प्रकाश सुवेदीसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामीहरुले लेख्ने पञ्चलाइनहरु केपी ओलीले बोलिरहनुभएको हुन्छ। उहाँको शरीरमा कला र हाँस्य व्यंग्य प्रचुर छ। उहाँ फिल्म खेल्नु हुन्थ्यो भने म खेलाउँछु। उहाँले फिल्म खेल्ने हो भने १० लाख ११ हजार म दिन्छु। उहाँलाई दुई दिन मात्र सुटिङ गराउँछु। त्यो पनि दुई दिन ३–३ घन्टा मात्र। दुई दिनमा ६ घन्टा मात्र सुटिङ गराउँछु।’

यस्तै केसीले नेकपा एकिकृत समाजवादीकी नेतृ तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीलाई पनि फिल्म खेलाउन आफू तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘यदि रामकुमारी झाँक्री बहिनीले मान्छिन् भने म आफैं जोडी भएर काम गर्छु। मलाई उहाँ साह्रै मन पर्छ। उहाँलाई अहिलेका चलेका हिरोइन बराबरै पारिश्रमिक दिनेछु।’


प्रतिक्रिया दिनुहोस्