निर्भयाको बलात्कारमा संलग्न ४ जनालाई फाँसी दिन नयाँ मिति तय

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : २६


नयाँ दिल्ली । दिल्लीको पटियाला हाउस अदालतले शुक्रबार निर्भया सामूहिक बलात्कार र हत्या मुद्धामा दोषी चारजनालाई फाँसीमा झुण्ड्याउँने तयाँ मिति तय गरेको छ । 

चार अभियुक्तहरुलाई फाँसीमा झुण्ड्याउने डेथ वारेन्ट जारी गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अब उनीहरुलाई फाँसी फेब्रुअरी  १ तारिखको बिहान ६ बजे हुनेछ।

यसअघि पटियाला हाउस अदालतले दोषीलाई फाँसी दिने मिति जनवरी २२ सम्म तय गरेको थियो। 

तर, दोषी मुकेश सिंहले राष्ट्रपतिसमक्ष दया याचिका दिएका थिए।

राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार मुकेश सिंहको दया याचिका खारेज गरिसकेपछि अदालतले नयाँ मृत्यु वारेन्ट जारी गरेको हो।

निर्भया मुद्दामा चार जना दोषी विनय शर्मा, मुकेश सिंह, अक्षय कुमार सिंह र पवन गुप्तालाई फेब्रुअरी १ मा तिहाड जेलमा फाँसी दिइनेछ।

नयाँ मृत्युदण्डको वारेन्ट जारी भएपछि निर्भयाकी आमा आशा देवीले भनिन् 'जबसम्म अपराधीलाई झुण्ड्याइने छैन मेरी छोरीले न्याय पाउँदैन।'

मुकेश सिंहका दाजु राम सिंहले हाँकीरहेको बसमा १६ डिसेम्भर २०१२ राती निर्भयामाथि सामूहिक बलात्कार भएको थियो ।

२२ वर्षीया निर्भयालाई बसमा सामूहिक बलात्कार गरी कुटपिट गरिएको थियो। निर्भयाको पछि अस्पतालमा मृत्यु भयो। यसपछि दिल्ली पुलिसले ६ जनालाई गिरफ्तार गरेको थियो ।

जसमध्ये एक नाबालिग थिए। नाबालिगलाई किशोर अदालतमा पेश गरिएको थियो भने राम सिंहले तिहाड जेलमा झुण्डिएर आत्महत्या गरिसकेका छन्। 

बाँकी ४ जनालाई मृत्युदण्ड सुनाईएको छ।
 

 


प्रतिक्रिया दिनुहोस्