चोलेन्द्रले नाम लिएकी डिना भन्छिन्-‘फोन आएपछि भेटेकी हुँ’

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : ४०


काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराले संसदीय समितिमा दिएको बयानमा काँग्रेस सांसद डिना उपाध्यायको नाम लिए।

बयानका क्रममा जबराले आफूलाई राजीनामा दिनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सहमहामन्त्री डिनालाई दूत पठाएको बताएका थिए।

न्यायाधिस दिपक कार्कीलाई प्रधानन्यायाधिस बनाउनेगरि आफूलाई राजीनामा दिन र राजीनामा दिए महाअधियोग नलगाउने गरि उपाध्यायले प्रस्ताव राखेको चोलेन्द्रको आरोप थियो।

संसदीय समितिमा चोलेन्द्रले आरोप लगाएपछि डिनाले सो बारे मुख खोलेकी छन्। उनले आफूले चोलेन्द्रलाई क्वाटरमै गएर भेटेको स्वीकार पनि गरेकी छन्। तर, चोलेन्द्रलाई आफूले दूतको रुपमा नभेटेर उनको तर्फबाट प्रधानमन्त्रीलाई प्रस्ताव लगिदिन फोन आएपछि भेटेको स्पष्टीकरण दिएकी छन्।

उपाध्यायले भनेकी छन्, ‘महाभियोग लागिसकेपछि मलाई अदालतबाट विभिन्न व्यक्तिले फोन गरे। एकपटक एक जनाले उहाँलाई प्रधानमन्त्रीसँग कुरा गराइदिनुस्, उहाँ राजीनामा दिएर बाहिरिन तयार हुनुहुन्छ भन्नुभयो। एक दिन त एक जनाले उहाँकै निवासमा पुगेर फोन गर्नुभयो र उहाँसँग फोनमा कुरा गराउनुभयो उहाँले ‘म ग्रेसफुल एक्जिटको पक्षमा छु’ भन्नुभयो । मैले उहाँलाई भेटेर कुरा राखिसकेपछि मात्र प्रधानमन्त्रीसँग कुरा गरौँला भनेँ ।’

 

 

 


प्रतिक्रिया दिनुहोस्