चुनावको मुखमा रामचन्द्र पौडेलले माफी मागे

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : १८


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले माफी मागेका छन्।

चुनावको मुखमा आफ्नो अभिव्यक्तिका कारण दमौलीमा खानेपानी बन्द गरिएपछि पौडेलले माफी मागेका हुन् ।

निर्वाचन केन्द्रित भेटघाटमा जुटेका पौडेलले गत साता दमौलीमा आयोजित एक कार्यक्रममा मादी नदीको पानी प्रशोधन गरेर वितरण गर्ने आयोजना सन्चालन हुँदा पानीको समस्या समाधान भएको बताएका थिए । तर,उक्त अभिव्यक्तिलाई लिएर पानी बन्द गरिएको पौडेलको भनाई छ ।

पौडेलले लेखेका छन्:

गत साता मैले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना सन्चालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ । त्यसअघि गुणादीलगायत अन्य श्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या९अपुग० थियो ।

दमौली आसपास पानीको मूलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा बृध्दि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुध्द पानी पाइरहेका छन् ।

मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्कसहितका व्याख्यासहित प्रेषित हुँदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु । विकासको क्रममा सकारात्मक उर्जा र सकारात्मक प्रगति हासिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ । जनताको स्वास्थ र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो हैन । त्यसतर्फ सबैको ध्यान जाओस् ।

गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिलेदेखि सहयोग आदान प्रदान गर्दै आएका छन् । मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह समेत गर्दछु ।

जय नेपाल!


प्रतिक्रिया दिनुहोस्