भिसा आवेदनमा ६० % नक्कली कागजात पेश, अस्ट्रेलिया जान नेपाली विद्यार्थीलाई गाह्रो, तर…

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : ११


काठमाडौं। अस्ट्रेलियामा भेट कोर्स अर्थात् व्यावसायिक शिक्षा र तालिमका विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अस्ट्रेलियाको अध्यागमनले निकै कडाई गरेको छ।

अस्ट्रेलियाको पत्रिका अस्ट्रेलियन फाइनान्सियल रिभ्युले दिएको जानकारीअनुसार नेपाली विद्यार्थीहरुले भोकेस्नल स्टुडेन्ट भिसाका लागि दिएको आवेदन यतिबेला झण्डै सत प्रतिशत अस्वीकार भएको अवस्था छ।

विशेषगरी भिसा आवेदनको लागि नक्कली कागजपत्र पेश गरेको पाइएपछि अस्ट्रेलियाले भोकेस्नल स्टुडेन्ट भिसामा कडाइ गरेको हो। पत्रिकाले जनाएअनुसार गत अप्रिलमा भिसा आवेदन दिएकामध्ये ८५ प्रतिशतले पढाईको लागि अनुमति पाएका थिए।

त्यसपछि जुनमा ३० प्रतिशतले मात्र विद्यार्थी भिसा पाउँदा गत जुन महिनामा ७ प्रतिशतले मात्र भिसा पाएका थिए। अस्ट्रेलियाका अध्यागमन विशेषज्ञ अबुल रिजवी यस विषयमा भन्छन्,‘भेट कोर्सका लागि मात्र विद्यार्थी भिसामा कडाई गरिएको देखिएको छ। अन्य विषय अध्ययन गर्न चाहनेलाई गाह्रो भएको देखिएको छैन।’

‘ती विद्यार्थीहरुले विद्यार्थी भिसालाई कामदार भिसाको रुपमा प्रयोग गरिरहेका थिए’ उनी भन्छन्।

अस्ट्रेलियन फाइनान्सियल रिभ्युका अनुसार नेपाली विद्यार्थीले पेस गरेकामध्ये ६० प्रतिशत भिसा आवेदनमा नक्कजली कागजात पाइएको छ, जसकारण अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई कडाई गरेको हो।

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा संघका प्रमुख फिल हनिवुडका अनुसार गलत कागजात पेश गर्ने देशहरुलाई सुक्ष्म ढंगले निगरानी गर्न जरुरी छ। उनी भन्छन्,‘अस्ट्रेलियाले गुणस्तरीय अध्ययन गन्तव्यको लागि आफ्नो प्रतिष्ठा कायम राख्नु आवश्यक छ।’

विज्ञहरुका अनुसार विद्यार्थीले कलेज र कोर्स परिवर्तन गरेको, विद्यार्थीको पढाइ राम्रो नभएको, पढाइभन्दा कामलाई प्राथमिकता दिएको, कलेजले विद्यार्थीलाई निकालेको, नक्कली कागजात पेश गरेको, भिजिट भिसामा गएर उतै बसेको जस्ता घटनाले पनि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई कडाई गरेको छ।

अब शैक्षिक संस्थामा आवेदन दिँदा फाइनान्सियल डकुमेन्ट पेश गर्नुपर्छ जसले नेपाली विद्यार्थीलाई पहिलेभन्दा बढी गाह्रो हुनेछ।


प्रतिक्रिया दिनुहोस्