विश्वकै होचो व्यक्ति खगेन्द्र थापा मगरको निधन

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १२ : ३१


काठमाडौं । विश्वकै होचो व्यक्तिको कीर्तिमान बनाएका खगेन्द्र थापा मगरको निधन भएको छ । 

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । 

स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो। निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ। 

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका थापा मगरलाई शुक्रबार दिउँसो ३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो। 

त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थिए ।

थापा १६ वर्षको उमेरदेखि पोखरा सिर्जना चोकमा बस्दै आएका थिए । रूपबहादुर थापामगर र धनमाया थापामगरबाट खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । 

२०४९ असोज १८ मा जन्मिएका खगेन्द्रको जन्मदाँ तौल जम्मा ६ सय ग्राम थियो। निधनअघि उनको वजन ५.५ केजी थियो।


प्रतिक्रिया दिनुहोस्