केपी ओली र चिनियाँ नेता लीबीच भेटवार्ता

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ११ : ३१


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सबीच भेटवार्ता भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो। भेटमा एमालेका सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताहरु पनि सहभागी भएका थिए ।

भेटमा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ । लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए। अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस्