माओवादी निकट अखिल क्रान्तिकारीमा तेस्रो धार, पन्चा सिंहले गुटगत क्रियाकलाप गरेको आरोप

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : १८


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का चारजना उपाध्यक्षले संगठन एकताका लागि अपिल गरेका छन् । उपाध्यक्षहरू इन्द्र भुषाल, मिलन एमसी, लक्ष्मी प्रसाद जोशी र डा. अच्युत प्रसादले संयुक्त रूपमा विज्ञप्ति निकालेर संगठनकी अध्यक्ष पञ्चा सिंह र समानान्तर गतिविधिमा संलग्न पवन कार्की समूहलाई जिम्मेवार बनेर संगठनको विवाद समाधान गर्न आग्रह गरेका छन् ।

उनीहरूले पार्टी अध्यक्ष प्रचण्डको निर्देशन, पार्टी स्थायी कमिटीको निर्णय र समस्या समाधान सुझाव समितिको सुझाव विपरीत संगठन अध्यक्ष गुटगत क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् ।

‘संगठन भित्र भावनात्मक एकता कायम गर्न र एकतावद्ध अखिल (क्रान्तिकारी) निर्माणमा अगाडी बढ्नको निम्ति अध्यक्ष कमरेड प्रचण्डको निर्देशन , पार्टी स्थायी कमिटीको निर्णय र समस्या समाधान सुझाव समितिको सुझाव विपरीत गुट गत क्रियाकलापमा संलग्न कमरेड पञ्चा सिंह र समानान्तर गतिविधिमा संलग्न कमरेड पवन कार्की समूहलाई तत्काल वार्तामा ल्याएर समस्या समाधान गर्न अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै कोमामा पुगेको अखिल (क्रान्तिकारी) भित्रको विवाद तत्काल समाधान गरि आम नेताकार्यकर्ताहरुलाई निर्वाचन तर्फ केन्द्रित गराउनको निम्ति पार्टीको समेत ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्