काठमाडाैं । विद्युत् आत्मनिर्भर हुँदै गएको भन्दै सरकारले खपत बढाउन सर्वसाधारणलाई आग्रह गरे पनि पछिल्ला केही हप्ताहरूमा काठमाण्डू उपत्यकामा समस्या देखा पर्न थालेको छ। विद्युतीय उपकरण बढी प्रयोग हुने साँझ र बिहानको समय पटक पटक बत्ती जाने वा बत्ती नगए पनि ती उपकरण पूर्ण क्षमतामा चलाउन नसकिने जस्ता समस्या बढ्दै गएको सर्वसाधारणहरूको गुनासो छ।
नेपाल विद्युत् प्राधिकरणले पर्याप्त विद्युत् उपलब्ध भएको बताइरहेका बेला यस्तो समस्या देखिनुले प्राधिकरणले घोषणा गरे अनुसार पर्याप्त ऊर्जा नभएको पो हो कि भन्ने संशय पनि कतिपयको मनमा पाइन्छ। तर प्राधिकरणले भने विद्युत् उपलब्ध नभएर भन्दा पनि प्रसारण क्षमता कम रहेकाले यस्तो समस्या देखा परेको जनाएको छ।
माग
विद्युत्को माग उच्च हुने समय साँझको साढे पाँचदेखि साढे आठबजेसम्म र बिहान पाँच बजेदेखि आठ बजेसम्म त्यस्तो समस्या रहेको प्राधिकरणका अधिकारीहरू स्विकार्छन्। प्राधिकरणका अनुसार हाल काठमाडाैं उपत्यकामा मात्रै विद्युत् माग करिब ४५० मेगावाट पुगेको छ। गत आर्थिक वर्षमा माग ३५० मेगावाटको हाराहारी रहेको प्राधिकरणका उप-कार्यकारी निर्देशक हरराज न्यौपानेले जानकारी दिए।
तिहारको तेस्रो साँझ दीपावली गरिँदा हलचोकबाट देखिएको काठमाडाैं को मनोरम दृश्य
"विद्युत् खपत बढेको छ। तर वितरण प्रणालीले माग धान्न नसक्दा यस्तो अवस्था सिर्जना भएको हो," न्यौपानेले भने। "जाडोका बेला काठमाडाैं र गर्मीका बेला तराइ क्षेत्रमा भार नथेगेका कारण ऊर्जा वितरणमा समस्या हुने गरेको छ।" उनका अनुसार हाल मुलुकमा करिब १३०० मेगावाट विद्युत्को माग छ।
त्यसमध्ये करिब ६०० मेगावाट प्राधिकरण आफैले सञ्चालनमा ल्याएका जलविद्युत परियोजनाबाट उत्पादन भएका छन् भने करिब ७०० मेगावाट विद्युत् निजी क्षेत्रले प्रवर्द्धन गरेका आयोजनाबाट प्राप्त भइरहेको अवस्था छ। हिउँद वा अन्य समयमा विद्युत् उत्पादनमा कमी आउँदा भने भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन्।
समस्या
काठमाण्डूमा पछिल्लो एक वर्षमा ऊर्जा खपत करिब एक सय मेगावाटले बढे पनि त्यस अनुसार वितरण प्रणाली सुधार हुन नसकेको न्यौपाने स्विकार्छन्। गत आर्थिक वर्षमा प्राधिकरणले मुलुकभर करिब ६,५०० ट्रान्सफर्मरहरूलाई नयाँले प्रतिस्थापन गरेको थियो।
"त्यसमा करिब एक हजारवटा ट्रान्सफर्मर काठमाण्डूमा जडान गरिएको थियो। करिब ३५० को हाराहारीमा यसै वर्ष जडान गरिसकिएको छ। तर यतिले मात्रै पुग्ने अवस्था छैन," न्यौपानेले भने। कुन ठाउँमा कति बेला भार बढ्छ भन्ने कुरा थाहा पाउन नसकिने र नेपालको वितरण प्रणाली एकतर्फी रूपमा मात्रै विद्युत् प्रवाह गर्न सकिने खाले भएको हुँदा विद्युत् प्रवाहमा असर परेको प्राधिकरण बताउँछन्।
त्यस बाहेक नयाँ स्थानमा ट्रान्सफर्मर राख्ने कुरामा सर्वसाधारणहरूले नै रोक लगाउने गरेको अनुभव प्राधिकरणको छ। "सुरक्षा लगायतका प्रश्न उठाउँदै सर्वसाधारणहरूले ट्रान्सफर्मर तथा सब स्टेसन आफ्ना घर वरपर राख्न नदिने गरेका छन्," न्यौपानेले भने।
"काठमाडाैंमा विद्युत् वितरण प्रणाली सुधार गर्न हामीलाई सरकार र सर्वसाधारणहरूको साथ चाहिन्छ। कतिपय स्थानमा जमिन मुनिबाट विद्युत् वितरण गर्ने कार्य पनि अघि बढाएका छौँ।" अधिकारीहरूका अनुसार खाना पकाउन र लुगा धुनका लागि विद्युतीय उपकरणको प्रयोग विद्युत् माग उच्च रहेको बेला हुने हुँदा भार थेग्न गाह्रो हुने गरेको हो। तर हालको अवस्थामा त्यो समस्या जस्तो देखिए पनि भविष्यमा भने खपत बढाउनुपर्ने हुँदा त्यो सङ्केतलाई राम्रै रूपमा हेर्नुपर्ने उनीहरूको भनाइ छ।
सुधार
चुनौती रहे पनि प्राधिकरणले काठमाण्डूमा वितरण प्रणालीको काम अघि बढाइरहेको बताएको छ। काठमाण्डू उपत्यकामा करिब एक लाख ट्रान्सफर्मर फेर्नु पर्ने वा नयाँ स्थानमा जडान गर्नुपर्ने आवश्यकता रहेको न्यौपानेले बीबीसीलाई जानकारी दिए। त्यस मध्य करिब ५० हजार ट्रान्सफर्मर आफूहरूसँग रहेको प्राधिकरणको दाबी छ।
"वितरण प्रणाली सुधार्ने काम ठूलो चुनौतीको कुरा हो। हामीले सबै पक्षसँग सहकार्य गरेर चुनौती चिर्दै अघि बढिरहेका छौँ," न्यौपानेले भने। प्राधिकरणले आगामी दुई वर्षमा काठमाण्डूमा मात्रै ८०० देखि ९०० मेगावाट विद्युत् खपत हुने अनुमान गरेको छ। त्यसका लागि करिब दुई हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने क्षमता विकास गर्नु पर्ने र त्यसतर्फ आफूहरू अग्रसर रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
बीबीसी