कास्कीमा बैंकिङ कसुर र लागूऔषध विकराल बन्दै, एक महिनामै १ सय ५३ मुद्धा

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ०८


पोखरा । कास्कीमा पछिल्लो समय अपराधिक घटनासँगै लागूऔषधका घटना बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस महिनामा लागूऔषध र बैंकिङ कसुरसहितका १ सय ५३ मुद्धा दर्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पुस महिनामा विभिन्न अपराधिक घटनाका १ सय ५३ मुद्धा दर्ता भएको बताउनुभयो । उहाँका अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसुरअन्तर्गत सबैभन्दा बढी ४७ वटा मुद्धा दर्ता भएका छन् । 

प्रहरीले चालू आर्थिक वर्षमा सबैभन्दा धेरै भदौ महिनामा ३८ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । यस्तै कार्तिक महिनामा १४ जनालाई नियन्त्रणमा लिइएकोमा असोज र मंसिरमा १३/१३ जनालाई नियन्त्रणमा लिएको छ । 

प्रदेशको राजधानीसँगै लागूऔषध प्रयोगकर्ताको संख्या बढी भएका कारण कास्कीबाट लागूऔषध कारोबारी धेरै समातिने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसी बताउनुहुन्छ ।

‘पोखरामा बाहिरबाट कारोबारी आउँछन्, विदेशी पनि आउँछन् । त्यसमाथि यहाँ लागूऔषध प्रयोगकर्ताको संख्या धेरै छ’ प्रवक्ता केसी भन्नुहुन्छ, ‘अभिभावकले आफ्ना बालबच्चालाई समय नदिनु पनि लागूऔषध प्रयोगकर्ता बढ्नुको कारण हो ।’

एक महिनामा एक सय ५३ मुद्धा दर्ता

जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनामा एक सय ५३ मुद्धा दर्ता भएका छन् । पुस महिनामा एक सय ५३ मुद्धा दर्ता भएको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो । पुुस महिनामा सबैभन्दा धेरै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसुरमा ४७ मुद्धा दर्ता भएका छन् ।

यस्तै बैंकिङ कसुरका १७, जबर्जस्ती करणीका ७, ठगीसम्बन्धी ५ र चोरीका ६ मुद्धा दर्ता भएका हुन् । यसबाहेक झुण्डिएर आत्महत्या गर्ने ११, जुवामा ४ र बहु–विवाहमा ३ मुद्धा दर्ता भएका छन् । प्रहरीले पुस महिनाभर चोरीका घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।

बैंकिङ कसुरसम्बन्धी ३२ मुद्धा 

कास्कीमा चालू आर्थिक वर्षको ६ महिनामा बैंकिङ कसुरसम्बन्धी ३२ मुद्धा दर्ता भएका छन् । प्रहरी नायव उपरीक्षक केसीले पुस मसान्तसम्म ३२ मुद्धा दर्ता भएको जानकारी दिनुभयो । उहाँले यी मुद्धामा प्रहरीले अहिलेसम्म २२ जनालाई पक्राउ गरेको बताउनुभयो ।

प्रहरीका अनुसार १० जना अभियुक्तहरु भने फरार छन् । २२ वटा मुद्धामा २ करोड ४५ लाख ३२ हजार ५ सय बिगो दाबी गरिएको छ । कतिपय कारोबारी थाहै नपाई बैंकिङ कसुरमा फस्ने गरेको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका कतिले प्रहरीलाई बयान दिँदा आफूलाई बैंकिङ कसुरबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिने गरेका छन् । 

‘कतिले पक्राउ परेपछि मात्र आफूलाई यस विषयमा थाहा भएको प्रतिक्रया दिने गरेका छन्’ केसीले भन्नुभयो, ‘मुद्धा दर्ता भएर पक्राउ परेपछि कतिले पैसा फिर्ता गर्छन् । तर मुद्धा दर्ता भइसकेपछि त्यसलाई किनारा लगाउन गाह्रो हुन्छ ।’

खातामा पैसा नभई चेक दिनेलाई पनि कार्वाही 

आफ्नो बैंक खातामा पैसा (ब्यालेन्स) नभई कसैलाई चेक दिने खातावालालाई प्रहरीले कानुनी कार्बाही शुरु गरेको छ । पीडितले उजुरी दिएको आधारमा कास्की प्रहरीले खातामा पैसा नभई चेक दिनेलाई नियन्त्रणमा लिएर कानुनी कार्वाही प्रक्रिया अघि बढाएको हो । 

खातामा पैसा नभई चेक दिनेलाई कानुनअनुसार उसले तिर्नुपर्ने रकम तिर्न लगाउने र ठगी मुद्धा पनि चलाउन थालेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । ‘हामीलाई उजुरी आइसकेपछि खातामा पैसा नभई चेक दिनेलाई नियन्त्रणमा लिन्छौं, ‘उहाँले भन्नुभयो, ‘त्यसपछि पैसा असुल गराउँछौं र थप कार्वाहीका लागि मुद्धा पनि चलाउँछौं ।’

कास्की प्रहरीमा अहिले आफ्नो खातामा पैसा नभई चेक दिने ३२ जनाविरुद्ध उजुरी परेको छ । त्यसमध्ये प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर कानुनी कार्वाहीको प्रक्रिया अघि बढाएको छ । थप २२ जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ । 

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) ले आफ्नो खातामा पैसा नभई चेक काट्न नहुने भनी उल्लेख गरेको छ । यदि त्यस्तो गरेको पाइएमा बैंकिङ कसुरअनुसार सोही दफाको १५ (१) मा बिगो बराबर जरिवाना र ३ महिना कैद हुने उल्लेख छ ।

खातामा पैसा नभएको चेक नदिन आग्रह 

कास्की प्रहरीले खातामा पैसा नभएको अवस्थामा चेक नदिन आग्रह गरेको छ । ‘खातामा पैसा नभई चेक दिनु गैरकानुनी कार्य हो, ‘कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले भन्नुभयो, ‘यस्तो कार्य कसैलाई पनि गर्नु हुँदैन, गरेमा कार्वाही हुन्छ ।’ 

नेपालको कानुनले खातामा पैसा नभई चेक दिनुलाई गैरकानुनी भनेको र त्यस्तोलाई नियन्त्रणमा लिएर कार्वाही गर्न भनेकाले उजुरी पर्नेबिरुद्ध कार्वाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।

नाबालक नै चोरीमा

कास्की प्रहरीले मोटरसाइकल चोरी गर्ने १७ वर्षीय युवकलाई पनि पक्राउ गरेको जनाएको छ । नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालक भनेर परिभाषित गरेकाले उनको पहिचान भने गोप्य राखेको छ ।

पक्राउ परेका ती युवकले ५ वटा मोटरसाइकल चोरेर थुपारेको र बेच्नका लागि ग्राहक खोज्ने क्रममा पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो ।
 


प्रतिक्रिया दिनुहोस्