काठमाडौँ । बेनिघाटको पुलबाट हाम फालेका काठमाडौँ थानकोट बस्ने विनय लामिछानेको उद्धार भएको छ भने श्रीमतीको मृत्यु भएको छ । दुई छोरा बेपत्ता छन् । मिटरब्याजमा लिएको पैसा तिर्न नसक्ने अवस्थामा पुगेपछि दम्पतीले सल्लाहमा नै त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ ।
माघ २ गते लेखेर घरमा छोडिएको सुसाइट नोट भेटिएको प्रहरीले बताएको छ। नोटमा विनयको घरमा ऋणका कारण आफूहरुले आत्महत्यालाई नै अन्तिम विकल्पका रुपमा रोजेको उल्लेख छ । उनीहरूले ऋण लिएको रकम र ऋण दिने व्यक्तिको नाम र तिर्नुपर्ने रकम उल्लेख गरिएको कागज फेला परेको प्रहरीले बताएको छ।
विनयले आफूहरू नदीमा हेलिएको बताएको प्रहरीले जानकारी दिएको छ। उनीहरु बिहीबार बेनीघाट सिउरेनी पुल मुन्तिरबाट हात समाएर दुवै छोरालाई काखमा लिइ त्रिशूलीमा हेलिएको विनयले बताएकाे प्रहरीले जानकारी दिएकाे छ ।
त्रिशूलीमा जलयात्रा गर्ने समूहले देखेपछि श्रीमान विनय लामिछानेको तत्काल उद्धार भएको थियो । मकवानपुरको चित्लाङमा जन्मेमा लामिछाने हाल चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोटमा बस्दै आएका थिए। बेपत्ता भएका बच्चाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
आफन्तका अनुसार सानो छोराको आज भातखुवाइ थियो।