गैँडाकोट । नवलपुरको गैँडाकोटमा सुविधासम्पन्न होटल द नारायणी सञ्चालनमा आउने भएको छ।
शुक्रबार होटल द नारायणी प्रा.लि.ले पत्रकार सम्मेलन गरी होटेल सञ्चालन गर्न लागिएको जानकारी गराएको हो ।
चितवन र नवलपरासीका छ जना पर्यटन व्यवसायीहरू रहेको नारायणी बिजनेश ग्रुपले सात करोड बढीको लगानीमा होटल सञ्चालन गर्न लागेको हो ।
नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. २ मा रहेको होटलको माघ ८ गते गैँडाकोट नगरपालिकाकाका प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालन गरिरहेको समूहले नै होटल द नारायणी शुरु गरेको हो ।
भिजिट नेपाल २०२० अर्न्तगत २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको महत्वकांक्षी योजनालाई मध्यनजर गरि यो बर्ष नवलपरासीमा एक लाख पचास हजार पर्यटक भित्राउने योजना अगाडि सारिएको छ।
सरकारले अघि सारेका योजनाहरू सफल गर्न सुविधा सम्पन्न होटलहरूको आवश्यकतालाई मध्यनजर गरि पर्यटन बर्षलाई सफल बनाउन आफूहरुले पनि केही हदसम्म सहयोग पु¥याउने होटल द नारायणी प्रालिका अध्यक्ष प्रभाकर पण्डितले बताउनुभयो ।
अध्यक्ष प्रभाकर पण्डितका अनुसार होटलमा ध्वनि प्रदूषणरहित ६ वटा बैठक कोठा, सभा हल, पार्टी हल, मनोरम वाटर फाउण्टेन रहेका छन् । त्यस्तै होटलमा नेपाली तथा थकाली खानाका परिकारसहित रेष्टुरेण्ट एण्ड बार र सुविधासम्पन्न सुपर डिलक्स कोठाहरू रहेको पण्डितले बताउनुभयो ।
काठमाडौँ, सौराहा र पोखरादेखि लुम्बिनी आवतजावत गर्ने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको अध्यक्ष पण्डितले बताउनुभयो।
सौराहा, देवघाट, मौलाकालिका मन्दिर, शाश्वत धाम, नारायणी नदीको रमणीय क्षेत्र अवलोकन गर्न आउने पर्यटकहरूका लागि होटल पायक पर्ने पनि सञ्चालकहरुको भनाई छ ।
करिब १ बिघा जग्गामा फैलिएको होटलमा हाल ४० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। नारायणी किनारमा २०७४ सालदेखि सञ्चालनमा आएको होटल द नारायणी रिसोर्टमा हाल ३५ बढी कर्मचारीहरू कार्यरत छन्।