युक्रेनसँगको युद्धमा आफू कमजोर हुँदै गएपछि चिनियाँ सहयोगको खोजीमा रुस!

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ५०


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको ७ महिना पुरा हुन लागेको छ। रुसले केहीदिनमै युक्रेन कब्जा गर्ने अनुमान थियो।

तर युद्ध सुरु भएको ७ महिनाामा प्रवेश गरिसक्दा उल्टै युक्रेनले रुसलाई गतिलो जवाफ दिन सफल भइरहेको छ। अमेरिका, बेलायत लगायत पश्चिमा राष्ट्रहले युक्रेनलाई हतियार दिइरहँदा युक्रेन द्वन्द्व लम्बिँदै गइरहेको हो।

यतिबेला त रुस युक्रेन सामु कमजोर सावित हुँदै गएको पाइएको छ। रुसले कब्जा गरेका २० वटा क्षेत्र युक्रेनले कब्जा गरिसकेको अवस्था छ। युक्रेनले आक्रमणलाई तिव्र रुपमा बढाइरहेका बेला रुसी सेनाहरु अतिक्रमित भूभाग छाड्न बाध्य भइरहेका छन्।

यसबीचमा रुसले युक्रेनलाई रोक्न चिनियाँ सहयोगको अपेक्षा राखेको छ। सीएनएनका अनुसार रुसी राष्ट्रपति भ्लादमिर पुटिनले चिनियाँ समकक्षी सी चिनफिङलाई यसैहप्ता भेट्दैछन्।

आफ्नो सेना कमजोर सावित भइरहँदा पुटिनले चीनसँग सैन्य तथा हतियार सहयोगको माग राख्ने अनुमान गरिएको छ। हाल सी र पुटिनबीच हुने महत्वपूर्ण भेटलाई विश्वले नियालिरहेको छ।

बिहीबार र शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीका तेस्रो वरियताका नेता लि जानसुले रुसी राज्य डुमाका भ्याचेस्लाभ भोलोदिनसँग भेट गरेका थिए। सो भेटपछि भोलोदिनले चीनले रुसलाई धेरै सहयोग गर्ने बताएका थिए।

लिले पनि रुसको सीमा क्षेत्रहरुमा विदेशी सेनाको उपस्थिती धेरै बढेको र रुसी सार्वभौमिकतामा खतरा पुगेकाले आफूहरुले आवश्यक सहयोग गर्ने बताएका थिए।

गत मार्चमा नै रुसी सेनाहरुलाई युक्रेनले राजधानी किभबाट लखेट्न सफल भएको थियो। त्यसयता नै रणनीतिक हिसाबले महत्वपूर्ण ठानिएका युक्रेनी शहरहरु पुनः युक्रेनको नियन्त्रणमा आइरहेका छन्। रुसले युक्रेनी सेनाको आक्रमण थाम्न नसकेको हो।

गतहप्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरुले रुसबाट ३ हजार बर्ग किलोमिटर भूभाग रुसी सेनाबाट फिर्ता ल्याएको बताएका थिए। उनले सन् २०१४ मा अतिक्रमण भएको क्राइमिया पनि फिर्ता गरेपछि मात्र रुससँगको युद्ध सकिने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्